मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

लेखनाथ महोत्सव पुस २ देखि, २ लाख ७० हजार दर्शक भित्र्याउने लक्ष्य

पोखरा । पोखरा महानगरपालिका-२७ तालचोकस्थित डाँडाको नाकमा २०८३ पुस २ गतेदेखि १३ गतेसम्म २२औँ लेखनाथ महोत्सव आयोजना गरिएको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा २ लाख ७० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा हुन लागेको महोत्सवबारे सङ्घले २०८३ मङ्सिर ७ गते आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

महोत्सवको सहआयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश रहेका छन् ।

त्यसैगरी पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्धक तथा एग्रो थाई फुड्स प्रालि (म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स) मुख्य प्रायोजक रहेका छन् ।

पत्रकार सम्मेलनमा सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवर्धन, हस्तकलाका सामग्रीको बजार विस्तार, लघु, घरेलु तथा साना उद्योगको विकास र उद्यमशीलता प्रवर्धन महोत्सवको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

उहाँका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको प्रदर्शनी, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, जातीय भेषभूषा, कला, संस्कृति र रीतिरिवाजको संरक्षण, नवप्रतिभाको प्रस्फुटन तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्धनमा समेत महोत्सवले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस वर्षको महोत्सवमा ३ सय ३५ ओटा स्टल रहनेछन् । तीमध्ये अटो प्रदर्शनीका ६, शैक्षिक, ग्रामीण प्रविधि तथा कृषि प्रदर्शनीका १३, कृषि तथा पशुजन्य वस्तुका ४०, किचन सामग्रीका २८, मेसिनरीका १२, हस्तकला प्रदर्शनीका १४, जनरल स्टलका २४, गार्मेन्ट, रेडिमेड कपडा तथा फुटवेयरका १ सय १२, खाद्य तथा पेय पदार्थका १८, डेरीका १३, नेपाली उत्पादनका १०, खाना महोत्सवका १७ तथा बैङ्क, वित्तीय संस्था र प्रायोजकका ३० स्टल रहनेछन् ।

सङ्घका सदस्यले स्टल बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । सामान ढुवानीका लागि थप २ हजार रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

सङ्घका सदस्यका लागि २०८३ मङ्सिर ७ गतेदेखि र अन्य व्यवसायीका लागि २०८३ मङ्सिर ११ गतेदेखि स्टल बुकिङ खुला गरिएको छ ।

महोत्सवका आकर्षणबारे जानकारी दिँदै प्रचारप्रसार उपसमिति संयोजक तथा सङ्घका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले औद्योगिक तथा व्यापार मेला, हस्तकलाका सामग्री, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, फेन्सी, कस्मेटिक, विद्युतीय उपकरण, फर्निचर, भान्छामा प्रयोग हुने सामग्री, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी रहने बताउनुभयो ।

उहाँका अनुसार लेखनाथ क्षेत्रका सुन्तला, माछा, मौरी, कफी, ताजा तरकारी, जैविक विविधता तथा दुग्धजन्य उत्पादनको बिक्री र प्रदर्शनी पनि गरिनेछ ।

कृषि, पर्यटन र उद्योग क्षेत्रसँग सम्बन्धित संवाद कार्यक्रम, ग्रामीण प्रविधि तथा शैक्षिक प्रदर्शनी, फुड फेस्टिभल र अटोमोबाइल प्रदर्शनी पनि महोत्सवका आकर्षण हुनेछन् ।

त्यसैगरी जातजातिका रीतिरिवाज, सांस्कृतिक झाँकी, र्‍याली तथा भेषभूषा प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कविशिरोमणिको सम्झनामा साहित्यिक कार्यक्रम र महोत्सव प्रवर्धनसम्बन्धी टिकटक प्रतियोगिता आयोजना गरिनेछ ।

बृहत् साइकल र्‍याली, पप कन्सर्ट, लाइभ ब्याण्ड, राष्ट्रिय कलाकारको प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य तथा स्टेज सो पनि रहनेछन् ।

बाल उद्यान, खाना महोत्सव र उत्कृष्ट स्टल पुरस्कारका साथै शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमा पनि महोत्सवको विशेष आकर्षणका रूपमा रहने भट्टराईले जानकारी दिनुभयो ।

महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपियाँ र सर्वसाधारणलाई १ सय रुपियाँ टिकट दर निर्धारण गरिएको छ । सुगम सङ्गीततर्फको कन्सर्ट हेर्न २ सय रुपियाँको छुट्टै टिकट लिनुपर्नेछ ।

सङ्घका अनुसार महोत्सवमा १२ करोड रुपियाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवबाट १ करोड ५ लाख रुपियाँ आम्दानी, ८५ लाख रुपियाँ खर्च र २० लाख रुपियाँ बचत हुने लक्ष्य राखिएको छ ।

महोत्सवबाट बचत हुने रकम सात तालको संरक्षण तथा प्रवर्धन, नवउद्यमी उत्पादन, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने सङ्घले जनाएको छ ।

वि.सं. २०५४ असार २० गते ८० जना सदस्यबाट स्थापना भएको लेखनाथ उद्योग वाणिज्य सङ्घले यस क्षेत्रको आर्थिक विकास तथा उद्योगी व्यवसायीको हकहित संरक्षण र संवर्द्धनमा काम गर्दै आएको छ ।

सङ्घले २०५९ र २०६० सालमा सुन्तला प्रदर्शनी आयोजना गरेको थियो । त्यसपछि २०६१ सालमा सुपथ मूल्य बजार सञ्चालनसँगै सुरु भएको महोत्सवले निरन्तरता पाउँदै आएको छ । यसैक्रममा लेखनाथ महोत्सव २२औँ संस्करणसम्म आइपुगेको हो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार