पोखरा । बागलुङको बडिगाड गाउँपालिकाबाट मेरुदण्डसम्बन्धी गम्भीर जन्मजात समस्या देखिएको ६ घण्टे नवजात शिशुको आकस्मिक हवाई उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ ।
बडिगाड गाउँपालिका-१, दगातुङडाँडाकी ३६ वर्षीया तारा थापाले सामान्य प्रसूतिमार्फत शिशुलाई जन्म दिनुभएको थियो ।
जन्मिएको शिशुको मेरुदण्डको झिल्ली बाहिर निस्किएको र फुटेको जटिल समस्या देखिएपछि गण्डकी प्रदेश सरकारले २०८३ मङ्सिर १० गते हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत तथा हवाई उद्धार फोकल पर्सन बुद्धिसागर अधिकारीका अनुसार जन्मिएको करिब ६ घण्टामै शिशुमा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो ।
स्थानीय स्तरमा थप उपचार सम्भव नहुने र उपचारमा ढिलाइ भए शिशुको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएपछि तत्काल हवाई उद्धारको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको पहलमा उद्धार गरिएका आमा र नवजात शिशुलाई थप उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ । अस्पतालमा उनीहरूको उपचार प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
शिशुको जन्म हुँदा तौल ३ किलो २ सय ग्राम र गर्भावधि ३८ हप्ता दुई दिन रहेको विवरणमा उल्लेख छ । शिशुमा चिकित्सकीय भाषामा स्पाइना बिफिडा विथ रप्चर्ड मेनिङ्गोमाइलोसील भनिने मेरुदण्डको जन्मजात जटिल समस्या देखिएको हो ।
उद्धार कार्य सफल बनाउन धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले प्राविधिक सुझाव प्रदान गर्नुभएको थियो ।
बुर्तिबाङ अस्पताल, बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. विज्ञान लामिछानेले उपचार व्यवस्थापन तथा हवाई उद्धारका लागि समन्वय र सहजीकरण गर्नुभएको थियो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायले पनि उद्धार कार्यमा आवश्यक समन्वय र सहयोग गर्नुभएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा उद्धारमा संलग्न टोलीको सहकार्यमा आमा र शिशुलाई पोखरा ल्याएर उपचार प्रक्रिया अघि बढाइएको हो ।
गण्डकी प्रदेश सरकारले हालसम्म ७९ जना नागरिकको हवाई उद्धार गरेको हवाई उद्धार फोकल पर्सन अधिकारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८३/८४ मा मङ्सिर १० गतेसम्म मात्रै सात जनाको हवाई उद्धार गरिएको उहाँले बताउनुभयो ।