पोखरा । परम्परागत कृषि प्रणाली, ग्रामीण संस्कृति र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले पोखरा महानगरपालिका-२९, लेखनाथस्थित नौविसे टोलमा तेस्रो दाँई महोत्सव आयोजना गरिएको छ ।
महोत्सवले कृषि पर्यटन प्रवर्धन, खेतीयोग्य जमिनको संरक्षण र युवालाई कृषि पेसाप्रति आकर्षित गर्न योगदान पुर्याउने आयोजकले अपेक्षा गरेका छन् ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारालाई आत्मसात् गर्दै पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा महोत्सव हुन लागेको हो ।
पोखराको पर्यटनलाई बाह्रै महिना चलायमान बनाउने र परम्परागत कृषि संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको २०८३ मङ्सिर १० गते पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।
महोत्सव २०८३ मङ्सिर १२ गते बिहान ९ बजेदेखि सुरु हुनेछ । महोत्सवमा परम्परागत दाइँ गर्ने शैलीसँगै ग्रामीण जीवनशैली, कृषि संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दाइँ महोत्सवलाई वर्षभरि पर्यटक आकर्षित गर्ने गन्तव्यका रूपमा पोखराको पर्यटन विकासमा योगदान पुर्याउने अवधारणासहित निरन्तरता दिइएको हो ।
पोखरामा बढ्दो सहरीकरणसँगै स्थानीयवासीको जीवनशैली परिवर्तन हुँदा परम्परागत खेती प्रणाली र कृषि संस्कृति हराउँदै गएको अवस्थामा नयाँ पुस्तालाई पुर्खाको खेतीपाती गर्ने शैली, श्रम संस्कृति र ग्रामीण जीवनसँग परिचित गराउनु महोत्सवको महत्वपूर्ण उद्देश्य रहेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले यस्ता महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउनुका साथै पुरानो संस्कृति, सीप र रहनसहनलाई नयाँ पुस्तासम्म पुर्याउन मद्दत गर्ने बताउनुभयो ।
महोत्सवको सफलताको कामना गर्दै उहाँले महानगरपालिका यस्ता गतिविधिमा सदैव साथमा रहने धारणा व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महोत्सवमा धान उत्पादन गर्ने उत्कृष्ट किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार परम्परागत कृषि जीवनसँग जोडिएका धान चुट्ने, गुन्द्री बुन्ने र लट्ठो तान्ने प्रतियोगिता पनि सञ्चालन गरिनेछ ।
महोत्सवमा सहभागी अतिथिलाई स्थानीय उत्पादन उपहार प्रदान गर्ने कार्यक्रमसमेत रहेको उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका बोर्ड कार्यकारी सदस्य सन्तोष पोखरेलले महोत्सवले पोखराको पर्यटनलाई ताल, हिमाल र साहसिक गतिविधिमा मात्र सीमित नराखी कृषि तथा ग्रामीण पर्यटनसँग जोड्ने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले महोत्सवले पोखरा आसपासका खेतीयोग्य जमिनको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र कृषकलाई आफ्नो पेसाप्रति थप उत्साहित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवका संयोजक हरिराम अधिकारीले कार्यक्रममा पर्यटन व्यवसायी, वडास्तरीय कृषि सञ्जाल, कृषक तथा स्थानीय नागरिकको सहभागिता रहने जानकारी दिनुभयो ।
कृषि र पर्यटनलाई एकअर्काका परिपूरकका रूपमा विकास गर्दै स्थानीय समुदायको आर्थिक गतिविधि बढाउने महोत्सवको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
महोत्सवले परम्परागत कृषि प्रणालीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने, युवालाई कृषि पेसामा आकर्षित गर्ने र ग्रामीण संस्कृतिलाई पर्यटकीय आकर्षणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
यसबाट आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने आयोजकको विश्वास छ ।
पोखरा पर्यटन परिषद्ले २०८१ सालदेखि दाँई महोत्सव आयोजना गर्दै आएको छ । महोत्सव सफल बनाउन पर्यटन व्यवसायी, वडास्तरीय कृषि सञ्जाल, नगरवासी तथा सञ्चारकर्मीलाई सहभागी भई सहकार्य र प्रचारप्रसारमा सहयोग गर्न आयोजकले अनुरोध गरेका छन् ।