मानव आवाज

२०८३ मङ्सिर ९ गते
00: 00: 00
२०८३ मङ्सिर ९ गते

अर्कालाई पर्दा मूकदर्शक बन्ने अवस्थाबाट माथि उठ्नुपर्छ : मन्त्री गुरूङ

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन पोखरामा प्रभातफेरी

पोखरा । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित गण्डकी प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।

अभियानको पहिलो दिन २०८३ मङ्सिर ९ गते पोखरा महानगरपालिका-१७, विरौटामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा पोखरास्थित विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रमको शुभारम्भ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरूङले गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री गुरूङले अन्याय र हिंसाविरुद्ध सबैले आफूबाटै सुरुवात गर्नुपर्नेमा जोड दिँदै अर्कालाई हिंसा र अन्याय पर्दा मूकदर्शक बन्ने प्रवृत्तिबाट माथि उठ्नुपर्ने बताउनुभयो ।

आफूलाई समस्या पर्दा पीडित महसुस गर्ने तर अरूलाई समस्या पर्दा मौन बस्ने प्रवृत्ति समाजमा देखिएको भन्दै उहाँले त्यसलाई बदल्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘आफूलाई पर्दा मात्रै म पीडित हुँ जस्तो लाग्छ । तर, अर्कालाई पर्दा हामी चाहिँ मूकदर्शक भएर हेर्ने अवस्था पनि देखिरहेका छौँ । यसबाट हामी माथि उठ्नुपर्छ । जुनसुकै कुराको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’-उहाँले भन्नुभयो ।

मन्त्री गुरूङले अभियानलाई प्रभावकारी बनाउन सबै सङ्घसंस्था, प्रहरी कार्यालय, मन्त्रालय तथा सरोकारवाला निकायबीच एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

संयुक्त प्रयासबाट लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथाममा सकारात्मक परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङले हिंसाविरुद्ध आवाज उठाउनेहरूलाई प्रोत्साहन गर्न, पीडितले खुलेर आफ्ना कुरा राख्न सक्ने वातावरण बनाउन तथा आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्ने बताउनुभयो ।

पीडितलाई सहानुभूति, सम्मान, सुरक्षा र न्यायको अनुभूति दिलाउनु सबैको मानवीय दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नु अभियानको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

लैङ्गिक हिंसाको रोकथाम, नियन्त्रण तथा पीडितको संरक्षण र न्यायका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

अभियानलाई १६ दिनमा मात्र सीमित नराखी निरन्तर सचेतना, सामाजिक जागरण र व्यवहार परिवर्तनको अभियानका रूपमा अगाडि बढाउनुपर्ने सचिव पौडेलले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको अपाङ्गता हेल्पडेक्स सहायक लक्ष्मी श्रेष्ठले साङ्केतिक भाषा एवम् दोभासेको काम गर्नुभएको थियो ।

प्रभातफेरी सहिदचोक, राष्ट्रबैंकचोक र ड्यामसाइड हुँदै बिरौटा चोकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्था तथा सरोकारवालाहरूले ब्यानरसहित सहभागी भई अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

मन्त्रालयकी अधिकृत देवी शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, जिल्ला समन्वय अधिकारी नवराज बराल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार