मानव आवाज

२०८३ मङ्सिर ४ गते
00: 00: 00
२०८३ मङ्सिर ४ गते

नेपाल पर्यटन पत्रकार सङ्‌घको अध्यक्षमा बास्तोला

पोखरा । पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले पोखरामा नेपाल पर्यटन पत्रकार सङ्‌घ गठन गरिएको छ ।

पर्यटकीय गन्तव्यको पहिचान, खोज तथा प्रचारप्रसार गर्दै पर्यटन क्षेत्रका सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित सङ्घ स्थापना गरिएको हो ।

पत्रकार हरिप्रसाद बास्तोलाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको सङ्घले २०८३ मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।

सङ्घको उपाध्यक्षमा गोविन्द सुवेदी र कृष्ण श्रेष्ठ (रोजी), महासचिवमा घनश्याम पाण्डे, सचिवमा एकराज गिरी, समावेशी सचिवमा विजय नेपाली र कोषाध्यक्षमा चन्द्रिका घिमिरे चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा पुष्पराज दाहाल, बालकुमारी पौडेल, बिना कुमारी थापा, सरिता गुरुङ, दिनानाथ बराल, राम गुरुङ, राजु गिरी र रामशरण नेपाली रहनुभएको छ ।

सङ्घलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुरुङले पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यम र पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पत्रकारिताले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने उहाँको भनाइ थियो । उहाँले पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिनसमेत आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष बास्तोलाले नेपाल पर्यटन पत्रकार सङ्घलाई पर्यटन पत्रकारहरूको साझा संस्थाका रूपमा अघि बढाउने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि प्रचारप्रसारसँगै खोजमूलक पत्रकारितालाई प्राथमिकता दिने उहाँको भनाइ छ ।

सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय गन्तव्य, कला, संस्कृति, प्राकृतिक सम्पदा तथा स्थानीय पर्यटन व्यवसायलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने काममा सङ्घ केन्द्रित हुने उनले बताए ।

त्यसैगरी पर्यटन पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिक हकहितको संरक्षण तथा पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने सङ्घको योजना रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

सङ्घले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रम र गतिविधिबारे पहिलो बैठकपछि सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार