पोखरा । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा नेपाल पत्रकार महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कास्कीको आयोजनामा पोखराका क्रियाशील पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि साङ्केतिक धर्ना दिएका छन् ।
२०८३ मङ्सिर ९ गते आयोजित धर्नामा पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउने सरकारी प्रयासको विरोधमा आन्दोलन गरिएको बताउनुभयो ।
उहाँले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने व्यक्तिलाई हालसम्म कारबाही नगरिएको भन्दै विरोध जनाउनुभयो ।
त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भइरहेको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
सरकारको यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा अनुदार व्यवहार देखाएको भन्दै महासङ्घले विरोधका कार्यक्रम अघि बढाएको उहाँले जानकारी दिनुभयो ।
धर्ना कार्यक्रममा विभिन्न सञ्चारगृहमा आबद्ध सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।