मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

सिन्धुली अस्पतालको शवगृह दुर्गन्धित, व्यवस्थापनमा प्रशासनको बेवास्ता

सिन्धुली । मृतकको शव सुरक्षित र सम्मानजनक रूपमा राख्नुपर्ने सिन्धुली अस्पतालको शवगृह नै अव्यवस्थित र दुर्गन्धित रहेको पाइएको छ ।

शव संरक्षणका लागि प्रयोग गरिने फ्रिजले प्रभावकारी रूपमा काम नगरेको, शवगृहभित्र सरसफाइको अवस्था कमजोर रहेको तथा रगत र अन्य फोहोर पदार्थ यत्रतत्र छरिएको गुनासो सार्वजनिक भएपछि अस्पतालको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठेको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलका अनुसार शवगृहभित्र प्रवेश गर्नसमेत कठिन हुने गरी दुर्गन्ध फैलिएको छ ।

शव सुरक्षित राख्न प्रयोग गरिने उपकरणको सञ्चालन तथा नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको र सरसफाइलाई प्राथमिकतामा नराखिएको उहाँको भनाइ छ ।

शवगृहभित्र झिँगा भन्किने र फोहोर पदार्थ छरपस्ट रहने अवस्थाले अस्पतालको सरसफाइ व्यवस्थापनमाथि समेत प्रश्न उठाएको नगर प्रमुख पोखरेलले बताउनुभयो ।

शवगृह मृतकको शव सुरक्षित राख्ने मात्र नभई मृतकका आफन्तलाई सम्मानजनक वातावरण उपलब्ध गराउने तथा आवश्यकताअनुसार कानुनी र चिकित्सकीय अनुसन्धानका लागि शव संरक्षण गर्ने संवेदनशील स्थान हो ।

त्यसैले यसको सञ्चालनमा नियमित सरसफाइ, दुर्गन्ध नियन्त्रण, संक्रमण रोकथाम, फोहोरको सुरक्षित व्यवस्थापन र शव संरक्षणका उपकरणको उचित सञ्चालन आवश्यक हुन्छ ।

शव राख्ने रेफ्रिजरेसन प्रणालीको नियमित प्राविधिक परीक्षण, तापक्रमको निगरानी, उपकरणको मर्मतसम्भार तथा सरसफाइको अभिलेख राख्ने व्यवस्था पनि अनिवार्य मानिन्छ ।

यस विषयमा सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले अस्पतालमा उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीबाट प्राप्त गुनासो सम्बोधन गर्न अस्पताल प्रशासन लागिरहेको बताउनुभयो ।

स्थानीयवासी तथा सेवाग्राहीले उठाएका विषयको वास्तविकता पत्ता लगाउन अस्पताल प्रशासनले तत्काल स्थलगत निरीक्षण र प्राविधिक परीक्षण गराउनुपर्ने आवश्यकता देखिएको छ ।

शवगृहको नियमित अनुगमनका लागि जिम्मेवार कर्मचारी तोक्ने, सरसफाइ तथा उपकरण सञ्चालनको अभिलेख राख्ने र व्यवस्थापनको अवस्थाबारे सार्वजनिक जानकारी दिने प्रणाली विकास गर्नुपर्ने मागसमेत उठेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शतिष ढकालले शवगृहको अवस्थाबारे उठेका गुनासोलाई अस्पताल प्रशासनले गम्भीरतापूर्वक लिएर वास्तविक अवस्था सार्वजनिक गर्नुका साथै आवश्यक सुधारका कदम चाल्नुपर्ने बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार