सिन्धुली । बीपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा अनुगमन कडा पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ ।
यात्रुलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायले अनुगमन तीव्र बनाएपछि होटल व्यवसायी पनि सेवा र खानाको गुणस्तर सुधार गर्न सक्रिय भएका छन् ।
दशैँतिहारजस्ता चाडपर्वका समयमा बीपी राजमार्गमा सवारीसाधन तथा यात्रुको चाप बढ्ने भएकाले खाद्य स्वच्छता र उपभोक्ता हितलाई ध्यानमा राखेर अनुगमनलाई तीव्रता दिइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयलगायत निकायले बीपी राजमार्ग र आसपासका होटल तथा रेस्टुरेन्टमा नियमित अनुगमन गरिरहेका छन् ।
अनुगमनका क्रममा खाद्य पदार्थको गुणस्तर, भान्छाको सरसफाइ, खाना पकाउने तथा भण्डारण गर्ने तरिका, मूल्यसूची र उपभोक्तालाई उपलब्ध गराइने सेवाको अवस्थाबारे निरीक्षण गर्ने गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदीले बताउनुभयो ।
राजमार्गका होटलमा सरसफाइ र खानाको गुणस्तर कमजोर पाइए कडा कारबाही हुने चेतावनीपछि व्यवसायी पनि सुधारमा जुटेका छन् ।
यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने, भान्छा सफा राख्ने, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्ने तथा निर्धारित मापदण्ड पालना गर्ने कामलाई प्राथमिकता दिइएको व्यवसायी बताउँछन् ।
पछिल्लो समय राजमार्गका होटलमा गुणस्तरीय खाना नपाइने गुनासो बढ्दै जाँदा होटलमा खाना खाने यात्रुको सङ्ख्या घटेको र त्यसको असर समग्र व्यवसायमा परेको व्यवसायीको भनाइ छ ।
केही होटलको कमजोरीका कारण सबै व्यवसायीको छवि प्रभावित हुने भएकाले खानाको गुणस्तर र सेवामा सुधार गर्न आवश्यक रहेको उनीहरू बताउँछन् ।
पूर्वी तथा मध्य तराईलाई राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण सडक बीपी राजमार्गमा दैनिक ठूलो सङ्ख्यामा सवारीसाधन सञ्चालन हुने गर्छन् ।
चाडपर्वका समयमा घर जाने र फर्किने यात्रुको चाप बढ्दा राजमार्ग आसपासका होटलमा ग्राहकको सङ्ख्या पनि बढ्ने गर्छ ।
यस्तो अवस्थामा यात्रुले अस्वस्थकर वातावरणमा खाना खानुपर्ने, गुणस्तरहीन खाद्य पदार्थ उपभोग गर्नुपर्ने र मनपरी मूल्य तिर्नुपर्ने समस्या हुन सक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाइएको उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख विष्णुकुमार भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बीपी राजमार्गअन्तर्गत चियाबारी, खनियाखर्क, खुर्कोट र मुलकोटका होटलमा निरन्तर अनुगमन भइरहेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका होटल सञ्चालकलाई नगद जरिबानासमेत गरिएको छ ।
मापदण्डविपरीत सञ्चालन भएका होटललाई आवश्यक सुधार गर्न निर्देशन दिने, खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गराउने र गम्भीर कैफियत भेटिए प्रचलित कानुनअनुसार कारबाही गर्ने गरिएको भट्टराईले बताउनुभयो ।