मानव आवाज

२०८३ मङ्सिर १ गते
00: 00: 00
२०८३ मङ्सिर १ गते

लोहोरो प्रहारबाट पत्नीको हत्या, पति पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका-१० स्थित डाँडाटोलमा घरायसी विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले आफ्नी ४० वर्षीया पत्नी सानुकुमारी कार्कीको टाउकोमा लोहोरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार २०८३ मङ्सिर १ गते बिहानको राति करिब १ बजे सामान्य घरायसी विवादका क्रममा मनोजले पत्नी सानुकुमारीको टाउकोमा ढुङ्गाको लोहोरोले प्रहार गरेका र गम्भीर चोट लागेपछि सानुको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । घटनाका आरोपित मनोज कार्कीलाई प्रहरीले पक्राउ गरेको र घटनाको कारण र घटनाक्रमबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतक सानुकुमारीको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भिमानका प्रमुख राजु केसीले जानकारी दिनुभयो ।

घरायसी विवादले हिंसात्मक रूप लिँदा भएको यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास सिर्जना गरेको छ । सामान्य विवादसमेत हिंसात्मक घटनामा परिणत हुँदा मानवीय क्षति हुन सक्ने जोखिमलाई यस घटनाले पुनः उजागर गरेको छ ।

मानवअधिकार संस्था इन्सेकका अनुसार सन् २०२५ को एक वर्षको अवधिमा तीन जना महिलाको हत्या परिवारका सदस्यबाट भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ मा उल्लेख गरेको छ ।  (साङ्केिक तस्वीर)

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार