सिन्धुली । बागमती प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुली जिल्लाका दुई स्वास्थ्य संस्थाले दोस्रो स्थान हासिल गरेका छन् ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशद्वारा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीका क्रममा गरिएको मूल्याङ्कनमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली प्रदेशभरिका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमध्ये दोस्रो भएको हो । चिकित्सालयले ७१.७५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
त्यसैगरी, सिन्धुली अस्पतालले पनि प्रदेशस्तरीय कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो स्थान हासिल गरेको छ । एउटै जिल्लाका दुई स्वास्थ्य संस्थाले प्रदेशस्तरको मूल्याङ्कनमा दोस्रो स्थान प्राप्त गर्नुलाई सिन्धुलीको स्वास्थ्य सेवा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका कार्यालय प्रमुख दीपकराज तिमल्सिनाले चिकित्सालयलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
उहाँले चिकित्सालयका कर्मचारी, सञ्चालन तथा व्यवस्थापन समिति, सेवाग्राही, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, शुभचिन्तक तथा सरोकारवाला निकायहरूको सामूहिक प्रयास र सहयोगबाट यो सफलता सम्भव भएको बताउनुभयो ।
चिकित्सालयले आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकलाई प्रभावकारी र गुणस्तरीय आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यालयले जनाएको छ ।