मानव आवाज

२०८३ मङ्सिर ७ गते
00: 00: 00
२०८३ मङ्सिर ७ गते

सुनास कास्कीको अध्यक्षमा अधिवक्ता विष्णुप्रसाद अधिकारी निर्वाचित

पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा अधिवक्ता विष्णुप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।

संस्थाको २०औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनले अधिकारीको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

भ्रष्टाचारविरुद्धको अभियानमा गण्डकी प्रदेशकै अग्रणी संस्थाका रूपमा परिचित सुनास कास्कीको अधिवेशन २०८३ मङ्सिर ६ गते सम्पन्न भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शिवहरि आचार्य, सचिवमा विष्णुप्रसाद पौडेल, सहसचिवमा इन्दिरा भण्डारी कोइराला र कोषाध्यक्षमा मञ्जु गौतम चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा घनश्याम पौडेल, विश्वमोहन अधिकारी, सुरेन्द्र परियार, भीम न्यौपाने, प्रकाश थापा र मुक्ति रेग्मी चयन हुनुभएको निर्वाचन संयोजक रवीन्द्रनाथ बास्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सुशासन कायम गर्न राज्यका निकायसँग स्पष्ट कानुनी प्रावधान र प्रक्रिया रहेको उल्लेख गर्दै तिनको पालना गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा प्रवाहका प्रक्रिया र व्यवस्थाबारे नागरिकलाई सचेत गराउनुका साथै नागरिक हितका पक्षमा नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका पूर्वउपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, संस्थापक अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, पूर्वअध्यक्षहरू चन्द्रकृष्ण कर्माचार्य, पुण्य पौडेल, सुन्दर गुरुङ र प्रा.डा. वेदनाथ शर्मालगायतले संस्थाको भूमिका र सुशासनका विषयमा आआफ्ना धारणा राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले संस्थाको गरिमा र पूर्वअध्यक्षहरूले स्थापित गरेको विरासतलाई कायम राख्दै भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दैनिक जनसरोकारका कार्यालय तथा नियामक निकायमा सुशासन, सदाचार, पारदर्शिता र जवाफदेही प्रशासन कायम गर्न पहल गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष सिरोजविजय कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शान्ति गुरुङले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार