पोखरा । हेमजा साहित्य महोत्सवको दोस्रो संस्करण आगामी मङ्सिर ५ र ६ गते पोखरा महानगरपालिका-२५ हेमजामा आयोजना गरिएको छ ।
‘काव्यनगरी हेमजाको पहिचान, साहित्य र सिर्जनाको राष्ट्रिय अभियान’ भन्ने नारासहित हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवर्धनमा महोत्सव सञ्चालन हुन लागेको हो ।
साहित्यिक गतिविधिसँगै हेमजाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र पर्यटनको सम्भावनालाई समेत महोत्सवमा जोड दिइने आयोजकले जनाएको छ ।
महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्नुका साथै हेमजाको साहित्यिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, लघुकथा, साहित्यिक विमर्श, काव्यवाचन र पुस्तकमाथिको परिचर्चालगायतका कार्यक्रम समावेश गरिएका छन् ।
प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायका अनुसार महोत्सवको पहिलो दिन २०८३ मङ्सिर ५ गते उद्घाटन सत्र हुनेछ ।
उद्घाटन सत्रपछि ‘कविता, अनुभूति र अभिव्यक्ति’ कार्यक्रममार्फत साहित्यिक गतिविधि सुरु हुनेछन् । त्यसपछि ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’, ‘सारङ्गीको सुसेली : लोकसंस्कृतिको धुन’ र ‘भजनमा हेमजा’ शीर्षकमा साहित्यिक मन्थन गरिनेछ ।
महोत्सवको दोस्रो दिन ‘मढीमा सिर्जना : काव्यनगरी दर्शन’ कार्यक्रमबाट गतिविधिलाई निरन्तरता दिइनेछ। उक्त दिन कविता, आख्यान र गैरआख्यान विधामाथि विमर्शका साथै मुक्तक, कविता, लघुकथा र गजल वाचनका कार्यक्रम सञ्चालन हुने महासचिव उपाध्यायले जानकारी दिनुभयो ।
कार्यक्रममा रामजीप्रसाद आचार्यका मुक्तक, शिव त्रिपाठीका कविता, कल्याण पन्तका लघुकथा र आवाज शर्माका गजल प्रस्तुत गरिनेछन् ।
यसैबिच, महोत्सवको उद्घाटन सत्रमा कवि एवम् भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने भएको छ ।
हेमजामा जन्मिएर नेपाली साहित्य र भाषाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका उपाध्यायको योगदानको उच्च कदर गर्दै अभिनन्दन ग्रन्थ अर्पण गर्न लागिएको आयोजकले जनाएको छ । यसअघि पहिलो संस्करणमा पनि उहाँलाई रथारोहणसहित अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका-२५ का वडाध्यक्ष एवम् महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले साहित्य महोत्सवले काव्यनगरी हेमजासहित समग्र पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले हेमजा साहित्यका क्षेत्रमा पहिलेदेखि नै स्थापित रहेको उल्लेख गर्दै महोत्सवले यस क्षेत्रको पहिचानलाई थप फराकिलो बनाउन सहयोग पुग्ने बताउनुभयो ।
पहिलो संस्करणमा ४१ जिल्लाका स्रष्टाहरूको सहभागिता रहेकोमा यस वर्ष त्योभन्दा बढी स्रष्टाको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ ।
पहिलो साहित्य महोत्सवकै अवसरमा हेमजालाई ‘काव्यनगरी’ घोषणा गरिएको थियो। दोस्रो संस्करणले हेमजाको साहित्यिक पहिचानलाई थप उचाइमा पुर्याउने आयोजकको विश्वास छ ।