पोखरा । पोखराको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
हिमालयन गल्फ कोर्स र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा २०८३ मङ्सिर ५ र ६ गते प्रतियोगिता सञ्चालन हुनेछ । प्र
तियोगिताबारे जानकारी दिन २०८३ मङ्सिर ३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी पूरा भएको जानकारी दिएको हो ।
प्रतियोगितामा अमेरिका, बेलायत, भारत र भुटानसहित नेपालका पोखरा, काठमाडौं, धरान र बुटवलका गरी करिब ७० जना महिला तथा पुरुष गल्फर सहभागी हुने हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष भुवन गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएन) गल्फर प्रतियोगितामा सहभागी हुनेछन् । उनीहरूसहित स्वदेश तथा विदेशका खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता स्टेबलफोर्ड ३ र ४ ह्यान्डिक्याप विधिमा खेलाइनेछ । ७० कोर्समा दुई दिन गरी ३६ होलको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ग्रस विजेता, विभिन्न ह्यान्डिक्याप समूह, महिला, सिनियर, लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिनलगायत विधामा पुरस्कार प्रदान गरिनेछ । ग्रस विजेताले नगद २० हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
त्यसैगरी, विभिन्न डिभिजनका विजेताले २० हजार र उपविजेताले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन्। महिला विधाका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपियाँ प्राप्त गर्नेछन् ।
सिनियर विजेतालाई १५ हजार तथा लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिनका विजेतालाई ५-५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । होल इन वानका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
नेप्लिज डायस्पोरा स्पोर्ट्स एन्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङले प्रतियोगितामा उक्त क्लबको मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीको सहप्रायोजन रहेको जानकारी दिनुभयो । प्रतियोगितालाई कास्की जिल्ला गल्फ सङ्घ र गण्डकी प्रदेश गल्फ सङ्घले सहयोग गरेका छन् ।
गल्फ खेलाडी बालकाशी गुरुङले प्रतियोगिता हिमालयन गल्फ कोर्समा सञ्चालन हुने जानकारी दिँदै प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवर्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।