पोखरा । नेपाल औषधि व्यवसायी सङ्घको संस्थागत विकास, व्यावसायिक हकहितको संरक्षण र सङ्गठन सुदृढीकरणमा लामो समयदेखि सक्रिय रहँदै आएका स्वास्थ्यकर्मी तथा औषधि व्यवसायी कृष्णप्रसाद पाण्डेले सङ्घको केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सङ्घको साधारण सदस्यदेखि गण्डकी प्रदेशको प्रथम अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसक्नुभएका पाण्डेले आफ्नो संस्थागत अनुभव र नेतृत्व क्षमतालाई राष्ट्रिय तहमा उपयोग गर्ने उद्देश्यसहित १५औँ राष्ट्रिय अधिवेशनमा केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पाण्डे २०५६ सालमा नेपाल औषधि व्यवसायी सङ्घको साविक गण्डकी अञ्चल शाखाको साधारण सदस्यका रूपमा सङ्घमा आबद्ध हुनुभएको थियो । त्यसयता उहाँ निरन्तर सङ्घको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उहाँले २०६४ देखि २०६७ सम्म सङ्घको कार्यसमिति सदस्यका रूपमा काम गर्नुभयो । २०६७ देखि २०७० सम्म पुनः कार्यसमिति सदस्यको जिम्मेवारी सम्हाल्नुभएका पाण्डे २०७० देखि २०७३ सम्म कोषाध्यक्ष हुनुभयो । त्यसपछि २०७३ देखि २०७७ सम्म महासचिवको जिम्मेवारीमा रहेर सङ्घको सचिवालय तथा सांगठनिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।
संस्थागत जिम्मेवारीसँगै राष्ट्रिय अधिवेशन व्यवस्थापनमा समेत उहाँको अनुभव छ । २०७६ वैशाख ५ र ६ गते पोखरामा सम्पन्न नेपाल औषधि व्यवसायी सङ्घको १३औँ राष्ट्रिय अधिवेशनमा उहाँले मिडिया संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो । सङ्घीय संरचनाअनुसार सङ्गठन विस्तार भएपछि २०७७ देखि २०८० सम्म एक कार्यकाल गण्डकी प्रदेशको प्रथम अध्यक्षका रूपमा उहाँले नेतृत्व गर्नुभयो । विभिन्न समिति, उपसमिति तथा संस्थागत जिम्मेवारीमा रहेर काम गर्नुभएका पाण्डे हाल सङ्घको निवर्तमान अध्यक्षको भूमिकामा हुनुहुन्छ ।
लामो समयको सङ्गठनात्मक अनुभवलाई राष्ट्रिय तहमा उपयोग गर्ने उद्देश्यले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिएको उहाँको भनाइ छ । औषधि व्यवसायीहरूको हकहित संरक्षण, पेसागत सुरक्षा, संस्थागत एकता र सङ्गठनको गरिमा अभिवृद्धिका लागि केन्द्रमा रहेर थप जिम्मेवारीपूर्वक काम गर्ने उहाँको प्रतिबद्धता छ ।
औषधि व्यवसायीका समस्या र चुनौतीलाई राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउन राज्यका नीति, नियम तथा कानुनको सूक्ष्म अध्ययन आवश्यक रहेको पाण्डेको धारणा छ । उपभोक्ताको अधिकार सुनिश्चित गर्दै औषधि व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सक्षम, दूरदर्शी तथा जिम्मेवार नेतृत्व आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
संस्थालाई अझ गतिशील, सबल, पारदर्शी र सदस्यहरूको वास्तविक भावना तथा आवश्यकता सम्बोधन गर्न सक्ने बनाउने उहाँको लक्ष्य छ । यसका लागि अग्रजहरूको अनुभव, सहकर्मीहरूको सुझाव र देशभरका औषधि व्यवसायीको सामूहिक सहकार्यलाई महत्त्व दिने उहाँले बताउनुभएको छ ।
यो उम्मेदवारी कुनै एउटा पद प्राप्त गर्ने प्रयास मात्र होइन, संस्थाप्रतिको जिम्मेवारी र औषधि व्यवसायीहरूको सामूहिक हितमा योगदान गर्ने अवसर पनि हो ।’-पाण्डेले भन्नुभयो । सङ्घको नेतृत्व चयन गर्दा तत्कालीन स्वार्थभन्दा दीर्घकालीन संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने उहाँको आग्रह छ । आज गरिने गलत निर्णयका कारण भोलिका पुस्ताले पछुताउनुपर्ने अवस्था आउन नदिन सही नेतृत्व चयन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
२०८३ मङ्सिर ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने सङ्घको १५औँ राष्ट्रिय अधिवेशन तथा ५३औँ वार्षिक साधारणसभालाई सफलताको शुभकामना दिँदै पाण्डेले देशभरका प्रतिनिधि, अग्रज, अनुज तथा सहकर्मी औषधि व्यवसायीहरूसँग साथ, सहयोग र समर्थनको अपेक्षा गर्नुभएको छ ।
‘सही नेतृत्व, सशक्त सङ्गठन र सुरक्षित औषधि व्यवसायका लागि हाम्रो साझा प्रयास’ भन्ने मूल सन्देशसहित अघि बढ्नुभएका पाण्डेले संस्थागत एकता, व्यावसायिक सुरक्षा र औषधि व्यवसायीको सम्मानलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाउनुभएको छ ।