ललितपुर । कात्तिक शुक्ल एकादशीका अवसरमा २०८३ मङ्सिर ४ गते हरिबोधिनी एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
यस अवसरमा हिन्दू धर्मावलम्बीले तुलसीको पूजा-आराधना गर्नुका साथै भगवान् विष्णुको विशेष पूजा गरी तुलसी विवाह उत्सव मनाउँदै छन् ।
हरिबोधिनी एकादशीलाई ठूली एकादशी, हरिबोधनी तथा तुलसी विवाहका नामले समेत चिनिन्छ । वैदिक परम्पराअनुसार यस दिन तुलसीको भगवान् दामोदर अर्थात् विष्णुसँग विवाह गरिदिने चलन छ ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै ब्युँझने भएकाले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिएको हो ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनालाई चतुर्मास भनिन्छ । यस अवधिमा विष्णुका भक्तजनले तुलसीको व्रत बसी विशेष पूजा-आराधना गर्ने परम्परा छ ।
भगवान् विष्णु शयनमा रहने धार्मिक विश्वासका कारण यस अवधिमा विवाह, व्रतबन्धलगायत शुभ तथा माङ्गलिक कार्य नगर्ने चलन छ । वर्षायाममा बाढीपहिरो र सर्पलगायत जीवजन्तुको जोखिम हुने भएकाले यात्रा नगर्नु पनि शुभ मानिने धार्मिक विश्वास छ ।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायणका मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ । भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण र इचंगुनारायण तथा ललितपुरको विशंखुनारायणमा आज भक्तजनको घुइँचो लाग्ने गर्छ ।
चार नारायणको दर्शन गर्न नसक्नेले काठमाडौंको बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गर्दा पनि चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । देशभरका विभिन्न नारायण मन्दिरमा पनि विशेष पूजाआराधना गरिँदैछ ।