पोखरा । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित राष्ट्रिय कर दिवस-२०८३ को अवसरमा पोखरामा कर सप्ताहका विभिन्न कार्यक्रम सुरु भएका छन् ।
कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले २०८३ मङसिर १ गते प्रभातफेरी आयोजना गरेको छ ।
पोखरा सभागृहबाट सुरु भएको प्रभातफेरी सृजनाचोक, जनप्रिय स्कुल, रत्नचोक, राष्ट्र बैङ्क चोक हुँदै सहिदचोकबाट रत्नचोकस्थित आन्तरिक राजस्व कार्यालय पुगेर समापन भएको थियो ।
कर सप्ताहअन्तर्गत २०८३ मङ्सिर २ गतेदेखि ६ गतेसम्म विभिन्न स्थानमा वस्तुगत संङ्घसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
त्यस्तै, मङ्सिर ५ र ६ गते छोरेपाटनस्थित डेभिस फल फुटसल सेन्टरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाका अनुसार कर प्रणालीप्रति नागरिकको सचेतना अभिवृद्धि गर्ने, करदातालाई करसम्बन्धी जानकारी प्रदान गर्ने, कर सहभागिता बढाउने तथा कर प्रशासन र करदाताबीचको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो ।
यसैबिच, आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले निर्धारित लक्ष्यको १०३.६६ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
प्रमुख कर अधिकृत ढुङ्गानाका अनुसार पहिलो चार महिनामा १ अर्ब ९६ करोड ४५ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ३ करोड ६५ लाख २९ हजार रुपियाँ सङ्कलन भएको छ । यो लक्ष्यभन्दा ७ करोड १९ लाख ५० हजार रुपियाँ बढी हो ।
यद्यपि, कात्तिक महिनाको राजस्व सङ्कलन भने लक्ष्यअनुसार हुन सकेन । उक्त महिनामा ४५ करोड १८ लाख ३ हजार रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ३२ करोड ७ लाख ३२ हजार रुपियाँ मात्रै सङ्कलन भएको छ । यो मासिक लक्ष्यको ७०.९९ प्रतिशत हो ।
कर सप्ताहको अन्तिम दिन मङ्सिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखराको परिसरमा विशेष कार्यक्रमसहित करदाता सम्मान गरिने कार्यालयले जनाएको छ । उक्त कार्यक्रममा तीन जना करदातालाई सम्मान गर्ने तयारी गरिएको छ ।
कर सप्ताहका कार्यक्रमअन्तर्गत प्रभातफेरी, वस्तुगत सङ्घसंस्थासँग अन्तरक्रिया तथा कर प्रशिक्षण, मैत्रीपूर्ण फुटसल प्रतियोगिता र करदाता सम्मानलगायतका गतिविधि सञ्चालन गरिनेछन् ।
प्रभातफेरीमा पोखरा उद्योग वाणिज्य सङ्घ, लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषद्, नेपाल निर्माण व्यवसायी सङ्घ कास्की, पोखरा चेम्बर अफ कमर्स, महिला उद्यमी सङ्घ नेपाल कास्कीलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू प्लेकार्डसहित सहभागी भएका थिए ।