मानव आवाज

२०८३ कात्तिक २९ गते
00: 00: 00
२०८३ कात्तिक २९ गते

गाउँमै उद्यमशीलताको सम्भावना खोज्दै लुम्रेका विद्यार्थी

पोखरा । “पहिले आफ्नो गाउँलाई मूल्य दिनुहोस् ।” यो सन्देशसहित कास्कीको माछापुच्छ्रे गाउँपालिका-८, लुम्रेका विद्यार्थीले आफ्नै गाउँमा उद्यम र रोजगारीको सम्भावना खोज्न थालेका छन् ।

भविष्य निर्माणका लागि गाउँ नै छाड्नुपर्छ भन्ने परम्परागत सोचलाई चिर्दै स्थानीय सीप, स्रोतसाधन र प्रविधिको संयोजनबाट गाउँमै समृद्धि ल्याउन सकिने सन्देश विद्यार्थीले पाएका छन् ।

मर्दी र माछापुच्छ्रे हिमालको काखमा रहेको लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको पहिचान गर्दै उद्यमशीलताका सम्भावना खोजेका हुन् ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपाल र फिरन्तेज एक्स्पिडिशनको संयुक्त आयोजनामा २०८३ कात्तिक २७ गते आयोजित अन्तरक्रियामा विद्यार्थीले गाउँमै सञ्चालन गर्न सकिने विभिन्न व्यावसायिक योजनासमेत प्रस्तुत गरेका थिए ।

विद्यार्थीलाई स्थानीय स्रोतसाधनको पहिचान, उद्यमशील सोच र दिगो विकासबारे प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा अमेरिकाको युनिभर्सिटी अफ कोलोराडो बोल्डरका प्राध्यापक तथा उद्यमी प्रोफेसर टम भिर्डेन र सामुदायिक विकास अभियन्ता लोइस श्याननले सहजीकरण गरेका थिए ।

प्रोफेसर भिर्डेनले उद्यमशीलता भनेको ठूलो पुँजी वा विशेष पहुँचको प्रतीक्षा गर्नु नभई आफू वरिपरिका समस्या र आवश्यकतालाई अवसरका रूपमा हेर्ने दृष्टिकोण भएको बताउनुभयो ।

“उद्यमशीलता सुरु गर्नका लागि अहिलेभन्दा राम्रो समय अर्को हुन सक्दैन । पहिले आफ्नो गाउँ र समुदायलाई मूल्य दिनुहोस्, त्यसपछि समुदायले पनि तपाईंको कामको मूल्य बुझ्नेछ ।”-उहाँले भन्नुभयो ।

उहाँले विद्यार्थीलाई उद्यमशीलताका पाँच आधारभूत पक्षबारे जानकारी गराउनुभएको छ । समस्यालाई नयाँ मूल्य सिर्जना गर्ने अवसरका रूपमा पहिचान गर्ने, सबै कुरा निश्चित नहुँदै साना प्रयासबाट काम सुरु गर्ने, असफलताबाट सिक्ने, उपलब्ध स्रोतसाधनको सदुपयोग गर्ने र समुदायका वास्तविक आवश्यकता सम्बोधन गर्दै जीवनस्तर उकास्ने उहाँका सुझाव छन् ।

बाँस र अल्लोदेखि लघु जलविद्युत्सम्मका योजना

अन्तरक्रियाका क्रममा विद्यार्थीले आफ्नै गाउँको परिवेश सुहाउँदा सिर्जनात्मक व्यावसायिक विचार प्रस्तुत गरेका थिए ।

बाँसका सामग्री उत्पादन, अल्लोको रेशाबाट कपडा तथा हस्तकला निर्माण, स्थानीय संस्कृति झल्किने होमस्टे सञ्चालन र अर्गानिक परिकारमा आधारित आतिथ्य व्यवसाय उनीहरूको प्राथमिकतामा परेका थिए ।

त्यसैगरी, गाउँमा उत्पादित कोदो, धान, चिया, अलैँची, भाँगो र महको प्याकेजिङ तथा ब्रान्डिङ गरी बजारसम्म पुर्‍याउने, कृषि पर्यटन प्रवर्द्धन गर्ने र वातावरणमैत्री लघु जलविद्युत् आयोजना सञ्चालन गर्न सकिने सम्भावनाबारे पनि विद्यार्थीले छलफल गरेका थिए ।

गाउँमै आईसीटी ल्याब स्थापनाको खाँचो

कार्यक्रममा ताराबराही आधारभूत विद्यालयकी प्रधानाध्यापक लक्ष्मी गुरुङले यस्ता अन्तरक्रियाले विद्यार्थीमा आत्मविश्वास र सिर्जनशील सोच विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा डिजिटल साक्षरताको आवश्यकता पनि औँल्याउनुभयो ।

सामान्य कम्प्युटर सीप सिक्नसमेत विद्यार्थीले ठूलो धनराशि खर्चेर पोखरा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले विद्यालयमै सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला स्थापना गर्न सहयोगको अपेक्षा गर्नुभयो ।

विद्यालयमै आईसीटी केन्द्र स्थापना गर्न सके आसपासका दर्जनौँ युवा लाभान्वित हुने उहाँको भनाइ थियो ।

स्थानीय स्रोतबाटै शिक्षक व्यवस्थापन गरी केन्द्रलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सकिने सम्भावनासमेत उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा कर्मफ्लाइट्स फाउन्डेसन नेपालका सचिव कुलप्रसाद अधिकारी, संस्थाका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवर, कर्मही घर्ती मगर तथा फिरन्तेज एक्स्पिडिशनका व्यवस्थापक पाउला र कुमार तामाङले पनि सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय तीन माध्यमिक विद्यालय, एक आधारभूत विद्यालय तथा आसपासका क्षेत्रका गरी ३७ जना छात्रछात्राको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार