मानव आवाज

२०८३ कात्तिक २९ गते
00: 00: 00
२०८३ कात्तिक २९ गते

अध्यात्म, युवा ऊर्जा र साङ्गठनिक सुशासनमा प्रतिबद्ध विष्णु !

समाज रूपान्तरणका लागि भौतिक विकास मात्र पर्याप्त हुँदैन, त्यसका लागि मानिसको मानसिक र आध्यात्मिक चेतनाको पनि उत्तिकै विकास हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ विष्णुप्रसाद बराल । आनन्द मार्ग प्रचारक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा प्रगतिशील उपयोग तत्त्व (प्राउट) दर्शनका अध्येता र साधकसमेत रहनुभएका बराल सामाजिक सेवा, युवा परिचालन र संस्थागत सुशासनलाई समाज परिवर्तनका महत्त्वपूर्ण आधार मान्नुहुन्छ ।

उहाँको सामाजिक जीवनको लामो यात्रा पोखराको सिमलचौरमा वि.सं. २०३७ असोज २५ गते स्थापित सृजना विकास केन्द्रसँग जोडिएको छ । साधारण सदस्यदेखि उपाध्यक्ष, अध्यक्ष, सल्लाहकार हुँदै संस्थाको विशेष परिस्थितिमा कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका बरालको अनुभवमा सामाजिक संस्था सञ्चालन गर्नु भनेको पदमा पुग्नु मात्र होइन, संस्थाको उद्देश्य, सम्पत्ति, प्रतिष्ठा र जनविश्वासको संरक्षण गर्नु पनि हो ।

मानिसलाई केवल भौतिक शरीरका रूपमा बुझेर समाजको वास्तविक रूपान्तरण सम्भव नहुने उनको धारणा छ । ग्रिक दार्शनिक अरस्तुले मानिसलाई विवेकशील र सामाजिक प्राणीका रूपमा व्याख्या गरेझैँ मानिसको सोच, विचार, विवेक र सामाजिक अन्तरसम्बन्धले नै सभ्यताको विकास गर्ने बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ-“मानिसको भौतिक, मानसिक र आध्यात्मिक चेतनाको एकीकृत विकास हुन सकेन भने समाजमा विद्यमान असमानता, शोषण र विकृतिको अन्त्य सम्भव हुँदैन ।”

श्री श्री आनन्दमूर्ति (प्रभात रञ्जन सरकार) को विचार र प्राउट दर्शनबाट प्रभावित बरालका लागि अध्यात्म व्यक्तिगत साधनामा मात्र सीमित विषय होइन । यो सामाजिक न्याय, आर्थिक समानता, नैतिक नेतृत्व र शोषणरहित समाज निर्माणसँग जोडिएको जीवनदर्शन हो । युवाहरूमा रहेको गतिशील ऊर्जा, सिर्जनशीलता र परिवर्तनकारी क्षमतालाई नै समाज रूपान्तरणको प्रमुख शक्ति मान्ने उहाँ नैतिकता, वैचारिक स्पष्टता र आध्यात्मिक चेतनासहित युवाहरूलाई सङ्गठित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

बरालको सृजना विकास केन्द्रसँगको सम्बन्ध साढे चार दशक लामो छ । संस्थासँग जोडिँदाको समय सम्झँदै उहाँ युवा शक्तिलाई सामाजिक परिवर्तनको अभियानमा परिचालन गर्ने उद्देश्यले सृजनाको स्थापना भएको बताउनुहुन्छ । छरिएर रहेको युवा जनशक्तिलाई सङ्गठित गर्दै सामाजिक उत्तरदायित्वबोध भएको गतिशील समाज निर्माण गर्नु त्यतिबेलाको मूल परिकल्पना थियो । वि.सं. २०५७ मा प्रकाशित सृजना स्मारिकामा ‘समाज परिवर्तनमा युवाहरूको भूमिका’ शीर्षकमा लेख लेख्नुभएका बराल आज पनि युवाको भूमिकालाई उत्तिकै महत्त्वपूर्ण शक्ति ठान्नुहुन्छ । उहाँका अनुसार मानिस एक्लैले समाज परिवर्तन गर्न सक्दैन । समाजमा रहेका व्यक्तिहरूबिचको अन्तरसम्बन्ध, अन्तरक्रिया र अन्तरनिर्भरताबाट मात्रै सामूहिक विकास सम्भव हुन्छ ।

युवालाई राजनीतिक वा सामाजिक गतिविधिमा भीडका रूपमा प्रयोग गर्ने प्रवृत्तिप्रति उहाँको असन्तुष्टि छ । युवाको शारीरिक, मानसिक र आत्मिक विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उहाँको धारणा छ । विगतमा ठोस र व्यावहारिक कार्यक्रमको अभावमा युवामा निष्क्रियता र निराशा देखिएको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ-“युवाको ऊर्जा सही दिशामा परिचालन गर्न सकियो भने समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ तर त्यसका लागि उनीहरूलाई उद्देश्य, अवसर र जिम्मेवारी दिन सक्नुपर्छ ।”

सामाजिक संस्थाहरूको भूमिकाबारे पनि बरालको आफ्नै स्पष्ट दृष्टिकोण छ । वि.सं. २०६७ को सृजना स्मारिकामा प्रकाशित ‘समाज रूपान्तरणमा सङ्घसंस्थाको भूमिका’ शीर्षकको उहाँको लेखले संस्थागत विकृति, राजनीतिक हस्तक्षेप र नेतृत्वको स्वार्थकेन्द्रित प्रवृत्तिमाथि प्रश्न उठाएको थियो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि देशभर सामाजिक सङ्घसंस्था स्थापना हुने क्रम बढे पनि संस्थाहरूले लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतार्न नसकेको उहाँको विश्लेषण छ । दलीय गुटबन्दी, व्यक्तिगत स्वार्थ र राजनीतिक प्रभावले सामाजिक क्षेत्रसमेत प्रभावित भएको उहाँ बताउनुहुन्छ । माओवादी सशस्त्र द्वन्द्व, २०६२/६३ को जनआन्दोलन र २०७२ को संविधान निर्माणपछिको राजनीतिक यात्रालाई स्मरण गर्दै बराल राजनीतिक परिवर्तनसँगै सामाजिक संस्थाहरूको कार्यशैली र नेतृत्व संस्कारमा पनि परिवर्तन आउनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ ।

सृजना विकास केन्द्रको योगदानलाई बराल कुनै एक व्यक्तिको उपलब्धिका रूपमा नभई सामूहिक प्रयास, अग्रजहरूको दूरदृष्टि र सामाजिक सहभागिताको परिणामका रूपमा हेर्नुहुन्छ । संस्थापक अध्यक्ष डम्बरबहादुर केसीलगायतका अग्रजहरूले रोपेको बिरुवाले आज विभिन्न क्षेत्रमा सामाजिक महत्त्वका उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । सृजनाको नेतृत्व र पहलमा स्थापित सृजना बहिरा उच्च माध्यमिक विद्यालयलाई उहाँ संस्थाको गौरवका रूपमा लिनुहुन्छ । अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि स्थापित दक्षिण एसियाकै पहिलो आवासीय बहिरा विद्यालय भएको उहाँको भनाइ छ ।

त्यसैगरी पोखरामा सर्वसुलभ उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको जनप्रिय बहुमुखी क्याम्पसलाई संस्थाको अर्को महत्त्वपूर्ण उपलब्धि मान्नुहुन्छ । क्याम्पसले क्युएए मान्यता प्राप्त गर्नु शैक्षिक गुणस्तरको दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ । महिला सशक्तीकरणका क्षेत्रमा सञ्चालन गरिएको महिला लघुऋण परियोजना पछि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका रूपमा विकसित भएको प्रसङ्ग पनि उहाँ स्मरण गर्नुहुन्छ । महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान सामाजिक विकास र आर्थिक सशक्तीकरणको उदाहरण भएको उहाँको बुझाइ छ ।

यसका अतिरिक्त द्वन्द्वपीडित बालबालिकाको संरक्षणका लागि सञ्चालन गरिएको सृजना बालगृह र पोखरा महानगरपालिका-१७ मा १ सय ५ भन्दा बढी घरधुरी लाभान्वित भएको खानेपानी आयोजना पनि संस्थाका उल्लेखनीय काम भएको उहाँ बताउनुहुन्छ । यी उपलब्धिहरूलाई संस्थाको इतिहाससँग जोड्दै बराल भन्नुहुन्छ-“सामाजिक संस्था भनेको भवन र पदाधिकारीको नाम मात्र होइन । समाजमा छाडेका सकारात्मक प्रभाव र निर्माण गरेका संस्थागत संरचनाले त्यसको वास्तविक परिचय दिन्छन् ।”

अध्यक्षको कार्यकालमा संस्थागत सुधारसँगै सामाजिक गतिविधिलाई पनि निरन्तरता दिएको बराल बताउनुहुन्छ । मानव सेवा आश्रममा भोजन सेवा, सडक डिभाइडरमा फलफूलका वृक्षरोपण, सदस्यहरूको नेतृत्व विकास तालिम तथा स्वास्थ्य शिविर यस अवधिका उल्लेखनीय कार्यक्रम भएको उहाँको भनाइ छ ।

चितवनको सौराहामा ३९ जना सदस्य सहभागी नेतृत्व विकास तालिम सञ्चालन गरिएको थियो । त्यस्तै अन्नपूर्ण गाउँपालिका-५ नयाँपुलमा आयोजित बृहत् महिला स्वास्थ्य शिविरबाट २ सय ९९ जना लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

जनप्रिय बहुमुखी क्याम्पसमा सृजना सभाकक्ष निर्माण, रक्तदान कार्यक्रम तथा अन्य सामुदायिक गतिविधिले संस्थालाई सामाजिक उत्तरदायित्वसँग जोडिराख्न सहयोग पुगेको उहाँको मूल्याङ्कन छ । उहाँका अनुसार संस्थाको आर्थिक र प्रशासनिक सुधारसँगै समाजसँगको सम्बन्धलाई जीवन्त राख्नु पनि नेतृत्वको महत्त्वपूर्ण दायित्व हो । संस्था आफ्नो मूल उद्देश्यबाट विमुख हुन नहुने र सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

बरालको विचारमा आजको समाजले भौतिक विकाससँगै नैतिकता र मानवीय चेतनाको विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ । श्री श्री आनन्दमूर्तिद्वारा प्रतिपादित प्रगतिशील उपयोग तत्त्व (प्राउट) दर्शनले प्राकृतिक तथा भौतिक स्रोतसाधनको विवेकपूर्ण उपयोग, सबैका लागि अवसरको सुनिश्चितता र नैतिक नेतृत्वलाई समुन्नत समाज निर्माणका आधार मानेको उहाँ बताउनुहुन्छ । समाजका प्रत्येक व्यक्तिले न्यूनतम भौतिक आवश्यकता पूरा गर्ने अवसर पाउनुपर्ने र मानसिक तथा आध्यात्मिक विकासका लागि स्वतन्त्र वातावरण हुनुपर्ने उहाँको मान्यता छ । राजनीतिक वा आर्थिक प्रणाली नैतिक धरातलमा आधारित हुन नसके त्यसको स्थायित्व सम्भव नहुने उहाँ बताउनुहुन्छ ।

नेपालमा पटकपटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको दैनिक जीवन र आर्थिक अवस्थामा अपेक्षित सुधार आउन नसकेको बरालको विश्लेषण छ । भ्रष्टाचार, दलीय स्वार्थ र कुशासनले नागरिकमा निराशा बढाएको उहाँ बताउनुहुन्छ । यही निराशा र परिवर्तनको आकाङ्क्षाबिच वि.सं. २०८२ भदौ २३ र २४ गते युवा पुस्ताले गरेको जेनजी आन्दोलनलाई उहाँ नयाँ पुस्ताको चेतना र असन्तुष्टिको महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिनुहुन्छ । यसले राज्य र समाज दुवैलाई सुशासन, पारदर्शिता र सामाजिक न्यायको आवश्यकता स्मरण गराएको उहाँको बुझाइ छ ।

युवाहरूले उठाएका प्रश्नलाई राजनीतिक घटनाका रूपमा सीमित नगरी सामाजिक संस्थाहरूले समेत आत्मसमीक्षा गर्नुपर्ने उहाँ बताउनुहुन्छ । सृजना विकास केन्द्रजस्ता संस्थाले नयाँ पुस्ताको सोच, सूचना प्रविधि र बदलिँदो सामाजिक आवश्यकतालाई आत्मसात् गर्नुपर्ने उहाँको धारणा छ । संस्थाको भावी मार्गचित्रमा डिजिटल गभर्नेन्स, हरित पहल, युवा उद्यमशीलता र आधुनिक व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुपर्ने उहाँले औँल्याउनुभएको छ । पुरानो संस्थागत अनुभव र नयाँ पुस्ताको सिर्जनशीलतालाई जोड्न सके मात्रै संस्थालाई समयानुकूल बनाउन सकिने उहाँको विश्वास छ ।

सृजना विकास केन्द्रसँगको लामो सम्बन्ध र अध्यक्षको जिम्मेवारीबाट प्राप्त अनुभवलाई बराल जीवनको महत्त्वपूर्ण उपलब्धि मान्नुहुन्छ । तर, उहाँको दृष्टिमा संस्थामा प्राप्त पद र जिम्मेवारी व्यक्तिगत प्रतिष्ठाका विषय होइनन् । ती त समाज र संस्थाप्रतिको उत्तरदायित्व निर्वाह गर्ने माध्यम हुन् । संस्थापक अध्यक्ष डम्बरबहादुर केसीलगायत अग्रजहरूले निर्माण गरेको जगलाई अझ बलियो बनाउँदै आगामी पुस्तालाई सक्षम र पारदर्शी संस्था हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ छ । सृजना विकास केन्द्रको ४६ वर्षे इतिहासलाई उहाँ सामूहिक त्याग, निष्काम सेवा र सामाजिक प्रतिबद्धताको परिणामका रूपमा व्याख्या गर्नुहुन्छ ।

आफूलाई सामाजिक अभियन्ता, आनन्द मार्गी साधक र सृजनाको पूर्व अध्यक्षका रूपमा चिनाउने बराल व्यक्तिगत लाभ र दलीय स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । “आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौँ भन्ने आदर्शलाई मैले जीवनको मार्गदर्शन बनाएको छु ।”-उहाँ भन्नुहुन्छ-“जीवनको अन्तिम श्वाससम्म व्यक्तिगत लाभभन्दा माथि उठेर समाज र मानवताको सेवामा समर्पित रहने मेरो सङ्कल्प हो ।”

नयाँ पुस्तालाई दलीय राजनीतिक प्रभाव र व्यक्तिगत स्वार्थबाट मुक्त भएर सामाजिक संस्थाको उद्देश्य र आदर्शलाई केन्द्रमा राख्न आग्रह गर्दै उहाँ युवाको ऊर्जा, आध्यात्मिक चेतना र संस्थागत सुशासनलाई एकीकृत गर्नुपर्नेमा जोड दिनुहुन्छ । सामाजिक रूपान्तरणका लागि विचार मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा उतार्ने नैतिक नेतृत्व, जिम्मेवार युवा शक्ति र पारदर्शी संस्थागत संरचना आवश्यक हुन्छ । यही मान्यताका साथ उहाँ सृजना विकास केन्द्रको भावी यात्रा अझ सशक्त, प्रभावकारी र जनमुखी बन्ने विश्वास व्यक्त गर्नुहुन्छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार