पोखरा । महिलाको सहभागिता र प्रतिनिधित्व सङ्ख्यामा मात्र सीमित नभई राज्यका हरेक निर्णायक तहमा प्रभावकारी भूमिका र नेतृत्व सुनिश्चित हुनुपर्नेमा पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
अन्तरपुस्ता महिलावादी मञ्चले सञ्चालन गरिरहेको देशव्यापी पाँचवर्षे ‘महिलावादी अनुपम अभियान’ अन्तर्गत २०८३ कात्तिक २८ गते आयोजित अन्तरक्रियामा सहभागीहरूले महिलालाई राजनीतिक, सामाजिक तथा राज्यका उच्च नेतृत्वदायी तहमा अर्थपूर्ण सहभागितासहित नेतृत्व गर्ने अवसर प्रदान गर्नुपर्ने बताएका हुन् ।
महिलाको सङ्ख्यात्मक उपस्थिति मात्र पर्याप्त नहुने भन्दै सहभागीहरूले नीति निर्माण र निर्णय प्रक्रियामा महिलाको निर्णायक भूमिका स्थापित हुनुपर्ने, महिला आन्दोलनमा विगतमा देखिएका विभाजनबाट पाठ सिक्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
अन्तरपुस्ता महिलावादी मञ्च विभिन्न पुस्ता, वर्ग, समुदाय र क्षेत्रका महिलावादी अभियन्ताहरू आबद्ध रहेको अनौपचारिक, साझा, स्वयम्सेवी तथा स्वतन्त्र सञ्जाल हो ।
देशका ७७ ओटै जिल्लाका महिलावादी अभियन्ताहरू आबद्ध रहेको यस मञ्चले महिलाको समानुपातिक तथा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने, महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्धन गर्ने र आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणमार्फत विभेदरहित समाज निर्माण गर्ने उद्देश्य राखेको नागरिक आवाज तथा टेवाकी संस्थापक रिता थापाले जानकारी दिनुभयो ।
सीमान्तकृत समुदायका महिला, लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता, नेतृत्व विकास तथा महिलाको अर्थपूर्ण सहभागिताका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा अभियानकी परिकल्पनाकार तथा नागरिक आवाज र टेवाकी संस्थापक रिता थापाले महिलाको सम्मानजनक र नेतृत्वदायी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले विगतमा राजनीतिकरण तथा पहिचानको राजनीतिक विभाजनका कारण महिला आन्दोलनसमेत विभाजित भएको उल्लेख गर्दै पछिल्ला निर्वाचनका अनुभवबाट महिलाले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।
अभियान पूर्णतः स्वयम्सेवी रूपमा देशव्यापी सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले महिलावादी शब्द र यसको मर्मबारे समाजमा फरकफरक बुझाइ रहेकाले साझा दृष्टिकोण निर्माण गर्न १३ बुँदे आधारपत्र तयार गरी अभियान अघि बढाइएको बताउनुभयो ।
पाँचवर्षे अभियानमार्फत विकासको मूल प्रवाहमा महिलाको सहभागिता बढाउनुका साथै राजनीति र राज्यका उच्च नेतृत्वदायी स्थानमा महिलालाई स्थापित गर्ने लक्ष्य राखिएको छ ।
अभियान सुरु भएको चार वर्षमा देशका सबै जिल्लामा पुग्ने, हस्ताक्षर अभियान सञ्चालन गर्ने तथा विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने काम भएको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष अभियानअन्तर्गत सञ्चालन भइरहेका कोणसभा तथा अन्तरक्रिया कार्यक्रम हालसम्म ५७ जिल्लामा सम्पन्न भइसकेका छन् ।
कार्यक्रममा अभियन्ता हरिबहादुर धामीले पोखरासहित गण्डकी प्रदेशका चार जिल्लामा तीनदिने कार्यक्रम सञ्चालन गर्ने योजनासहित आफूहरू आएको बताउनुभयो ।
त्यसैगरी, पृथ्वीनारायण क्याम्पसकी उपप्राध्यापक डा. शान्ता खत्री र त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दामोदर त्रिपाठीले महिला अधिकार, लैङ्गिक समानता तथा नेतृत्व विकासका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।
छलफलका क्रममा सहभागीहरूले महिलाको उपस्थिति र प्रतिनिधित्वले मात्र समानता स्थापित नहुने भन्दै निर्णय प्रक्रियामा प्रभाव पार्न सक्ने नेतृत्व विकासमा जोड दिएका थिए ।
कार्यक्रममा कास्कीका विभिन्न राजनीतिक दल, सङ्घसंस्था तथा नागरिक समाजका प्रतिनिधि, पूर्व तथा वर्तमान जनप्रतिनिधिहरूले समेत आफ्ना अनुभव र धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी ज्ञानु आचार्यले गर्नुभएको थियो ।