मानव आवाज

२०८३ कात्तिक २६ गते
00: 00: 00
२०८३ कात्तिक २६ गते

पोखरामा जिप दुर्घटना : एक जनाको मृत्यु, १२ जना घाइते

पोखरा । पोखरा महानगरपालिका-२३ स्थित दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप २०८३ कात्तिक २५ गते राति करिब पौने १० बजे अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार मृत्यु हुनेमा पर्वत घर भई हाल पोखरा महानगरपालिका-२४ पामे बस्दै आउनुभएका २३ वर्षीय मिलन गुरुङ रहनुभएको छ । उहाँको उपचारका क्रममा २०८३ कात्तीक २६ गते बिहान पौने ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते हुनेमा घाँटीछिनाका १५ वर्षीय विवेक बिक, चैनपुरका १६ वर्षीय विवस पराजुली, पोखरा–२३ का १४ वर्षीय अमित सुनार, १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीया मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार, १३ वर्षीय सन्जल सुनार, १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री हुनुहुन्छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच मादक पदार्थ सेवन गरी फेवातालमा हाम फालेका एक युवकलाई प्रहरीले घाइते अवस्थामा उद्धार गरेको जनाएको छ ।

२०८३ कात्तिक २५ गते राति करिब ११ बजे पोखरा महानगरपालिका-६ स्थित बसुन्धरापार्क नजिकै फेवातालमा पोखरा महानगरपालिका-५ प्रस्याङ निवासी २९ वर्षीय केशव भुजेलले हाम फालेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उहाँलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरास्थित जीएमसी अस्पताल पुर्‍याएको थियो ।

प्रहरीका अनुसार घाइते भुजेलको अवस्था मध्यम रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार