मानव आवाज

२०८३ कात्तिक २५ गते
00: 00: 00
२०८३ कात्तिक २५ गते

पोखरामा १९औँ भाइटीका महोत्सव सम्पन्न, ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखरा । होटल सङ्घ पोखरा नेपाल (हान) ले तिहारको अवसरमा आयोजना गरेको १९औँ भाइटीका महोत्सवमा विभिन्न १५ देशका ५१ जना विदेशी पर्यटकले भाइटीका र माला लगाएका छन् ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवर्धनमा २०८३ कात्तिक २५ गते पोखरा महानगरपालिका-६ स्थित होटल पौवाको परिसरमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा रेन्वो चिल्ड्रेन होम नेपालका छात्राहरूले विदेशी पर्यटकलाई भाइटीका र माला लगाइदिएका थिए ।

कार्यक्रममा अमेरिका, बेलायत, चीन, जापान, अस्ट्रेलियालगायत १५ देशका पर्यटक सहभागी भएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

अध्यक्ष सुवेदीले भाइटीका महोत्सवलाई निरन्तरता दिएपछि पोखराका विभिन्न होटलमा समेत विदेशी पर्यटकलाई भाइटीका लगाउने कार्यक्रम सञ्चालन हुन थालेको बताउनुभयो ।

 नेपाली संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्नुका साथै आपसी भाइचारा र सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा विदेशी पर्यटकले देउसीभैलो खेलेर तथा नाचगान गरेर रमाइलो गरेका थिए । उनीहरूले नेपाली परिकार सेलरोटीको स्वादसमेत लिएका थिए । टीका लगाएपछि महिला पर्यटकलाई पछ्यौरा र पुरुष पर्यटकलाई ढाकाटोपी उपहारस्वरूप प्रदान गरिएको थियो ।

टीका लगाएपछि लिथुआनियाकी पर्यटक मोनिकाले नेपाली नागरिक र तिहारको सांस्कृतिक पक्ष आफूलाई निकै मन परेको अनुभव सुनाउनुभयो ।

मर्दी हिमाल पदयात्राका क्रममा हिमाललाई राम्रोसँग अवलोकन गर्न नपाए पनि पदयात्रा आफ्नो लागि निकै स्मरणीय बनेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायी विभल्व पौडेल, गोविन्दराज पहारी, पार्वता पाण्डे, वैभव पौडेल, पोमनारायण श्रेष्ठ, गणेश पहारी, मेहरमान श्रेष्ठ र गोमा पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण पर्यटन विज्ञ एवम् प्राध्यापक दिपेन्द्र पहारीले सहजीकरण गर्नुभएको थियो । महोत्सवमा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार