मानव आवाज

२०८३ कात्तिक २४ गते
00: 00: 00
२०८३ कात्तिक २४ गते

आत्मसम्मान र आत्मशुद्धिको सन्देश बोकेको म्हः पूजा, नेपाल संवत् नयाँ वर्षको उल्लास

काठमाडौँ । आफ्नो शरीर, आत्मा र जीवनप्रति सम्मान प्रकट गर्दै नेवार समुदायले आज म्हः (आत्म) पूजा गर्दैछन् । नेपाल संवत् ११४७ को सुरुवातसँगै मनाइने म्हः पूजाले मानिसले आफ्नै अस्तित्वको सम्मान गर्नुपर्ने र जीवनलाई सकारात्मक बनाउनुपर्ने सांस्कृतिक तथा धार्मिक सन्देश बोकेको छ ।

नेवार समुदायमा म्हः पूजालाई आफूभित्रको चेतना, आत्मसम्मान र जीवनशक्तिको पूजा गर्ने पर्वका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवताको आशीर्वाद प्राप्त हुने र मानव जीवन सार्थक बन्ने विश्वास छ ।

धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले यसको पूजा गर्ने परम्परा सुरु भएको हो । आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने धार्मिक विश्वास रहेको उहाँ बताउनुहुन्छ ।

म्हः पूजा नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो । यस अवसरमा परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर विधिपूर्वक आफ्नो पूजा गर्छन् । नयाँ वर्षको सुरुवातसँगै गरिने यस पूजाले पारिवारिक एकता, आत्मसम्मान र सुखमय जीवनको कामना गर्ने अवसरसमेत प्रदान गर्छ ।

म्हः पूजासँगै २०८३ कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि सुरु भएको छ । नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् इसं ८८० मा गरिब जनताको ऋणमोचन गराएर नेपाल संवत् सुरु गराएको ऐतिहासिक मान्यता छ ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत् मानिन्छ । पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको नेपाल संवत्लाई पुनः राष्ट्रिय पहिचान दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको थियो ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।  

त्यसैगरी, विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेको थियो ।

नेपाल संवत्को नयाँ वर्ष काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष उत्साहका साथ मनाइन्छ ।

काठमाडौँमा पुरानो बहीखाता बन्द गरी नयाँ वर्षको पहिलो दिन नयाँ बहीखाता सुरु गर्ने परम्परासमेत रहेको छ ।

नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजाले नयाँ सुरुवात, आत्मसम्मान, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई एकसाथ जोड्ने भएकाले यी पर्व नेवार समुदायको मात्र नभई नेपालको मौलिक सांस्कृतिक सम्पदाका रूपमा समेत महत्त्वपूर्ण मानिन्छन् ।

फोटो साभारः https://www.himalayandream.team/blog/nepal-sambat

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार