मानव आवाज

२०८३ कात्तिक २२ गते
00: 00: 00
२०८३ कात्तिक २२ गते

‘मौलिक संस्कृति संरक्षणमा जोड दिँदै लायन्स क्लबको स्मारिका विमोचन’

पोखरा । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले स्मारिका विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबले लायन वर्ष २०२६/०२७ को गतिविधि समेटेर प्रकाशन गरेको ‘स्मारिका गोल्डेन-१४’ को विमोचनसँगै विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

‘मानवताका लागि एकता’ भन्ने लायन्स इन्टरनेसनलको वर्ष २०२६/०२७ को थिमअन्तर्गत लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको मातहतमा रहेको क्लबले २०८३ कात्तिक २१ गते पोखरा-१२, माटेपानीमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालका डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन रत्नप्रसाद पराजुलीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गभर्नर पराजुलीले संस्कृति समाजको प्राण र राष्ट्रको पहिचान भएको बताउनुभयो । मौलिक संस्कृति बिनाको राष्ट्रको पहिचान अस्तित्वविहीन बन्ने उल्लेख गर्दै उहाँले नेपाली संस्कार, रीतिरिवाज र चाडपर्वलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विजयादशमी, तिहार, छठ, ल्होसार, इद, बकरइद, क्रिसमस र माघेसङ्क्रान्तिलगायतका पर्वले सामाजिक एकता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस्ता पर्वले छरिएर रहेका परिवार तथा समुदायलाई एउटै सूत्रमा बाँध्दै आपसी रिसराग बिर्सेर मिलेर बस्न प्रेरित गर्ने उहाँको भनाइ थियो ।

नेपाली संस्कृति प्रकृतिसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उहाँले छठमा सूर्यको उपासना र प्रकृति पूजासँग सम्बन्धित विभिन्न पर्वले वातावरण संरक्षण तथा प्रकृतिको सम्मान गर्नसमेत सिकाउने बताउनुभयो ।

संस्कार र संस्कृति संरक्षणको अभियान ठूला गोष्ठी वा मञ्चबाट भन्दा पनि आफ्नै घरपरिवारबाट सुरु हुनुपर्ने उहाँको भनाइ थियो ।

बालबालिकालाई आफ्ना चाडपर्वको कथा, महत्त्व र मनाउने विधिबारे जानकारी गराउनु अभिभावकको पहिलो कर्तव्य भएको उहाँले बताउनुभयो ।

सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाउने, चाडपर्वमा सामूहिक सद्भावका कार्यक्रम आयोजना गर्ने र आपसी सहकार्य बढाउने काममा सबै नागरिकको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष लायन प्रजापति बाँस्तोला र संस्थापक अध्यक्ष लायन दिनबन्धु पौडेललाई सम्मान गरिएको थियो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा मनोनीत हुनुभएका क्लबका सांस्कृतिक संयोजक लायन चोलेन्द्र पौडेललाई पनि सम्मान गरिएको थियो ।

यसैगरी, शारीरिक रूपमा अशक्त ८४ वर्षीय ज्ञानबहादुर दर्जीलाई एक थान ह्विलचेयर प्रदान गरिएको थियो । दर्जीका छोरा मनिराज दर्जीले उक्त ह्विलचेयर ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एम नेपालका फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन किशोर बरालले क्लब परिवारबीच आपसी सद्भाव, भाइचारा र आत्मीयता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस वर्ष देशमा भएका प्राकृतिक विपत्तिका कारण नियमित कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताउनुभयो ।

देश पुनःस्थापनाको अभियानमा जुटिरहेका बेला क्लबले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको उल्लेख गर्दै आपसी भाइचारा र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त कार्यक्रम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ जेका गभर्नर लायन प्रजापति बाँस्तोला, आईपीएमसीसी लायन मिलन थापा, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन विकास भुर्तेल, डिष्ट्रिक्ट ३२५ एमका चिफ एड्भाइजर लायन शिवराज आचार्य र डिष्ट्रिक्ट प्रोटोकल चिफ लायन दिनबन्धु पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा २५ जना सदस्यबाट सुरु भएको क्लबमा हाल ७१ जना सदस्य आबद्ध रहेको जानकारी दिइएको थियो ।

क्लबका अध्यक्ष लायन थोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष लायन पुष्पराज पौडेलले स्वागत मन्तव्य राखनुभएको थियो भने सचिव लायन शिव वाग्लेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार