पोखरा । पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई खेल पर्यटनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्न सरोकारवालाले सुझाव दिएका छन् ।
प्रतियोगिताको क्षेत्र विस्तार गर्दै दौडको दूरी बढाउने, नयाँ पर्यटकीय गन्तव्य समेट्ने तथा विदेशी धावकको सहभागिता बढाउनुपर्ने उनीहरूको धारणा छ ।
‘खेल पर्यटन प्रवर्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ भन्ने नारासहित पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा गत असोज २४ गते सम्पन्न तेस्रो संस्करणको पुम्दीभुम्दी खुला पर्वतीय दौड प्रतियोगिता-२०८३ को समीक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८३ कात्तिक २१ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतियोगितालाई थप व्यवस्थित, परिस्कृत र अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन विभिन्न सुझाव प्रस्तुत गरिएको थियो ।
कार्यक्रम संयोजक दीननाथ बरालले प्रतियोगिताको दूरी बढाउँदै नयाँ पर्यटकीय क्षेत्रलाई समेत समेटेर आगामी संस्करण सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
पोखरा महानगरपालिका-२२ का वडाध्यक्ष हिमलाल बरालले निर्माणाधीन २७ किलोमिटर फुटट्र्याकलाई उपयोग गर्दै आगामी दिनमा प्रतियोगिता सोही मार्गमा सञ्चालन गर्न सकिने बताउनुभयो ।
स्थानीयवासीले समेत प्रतियोगितालाई आफ्नै कार्यक्रमका रूपमा ग्रहण गरेको उल्लेख गर्दै उहाँले यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकालले प्रतियोगिताको क्षेत्र विस्तारसँगै विदेशी धावकको सहभागिता बढाउनुपर्ने बताउनुभयो ।
उहाँले दौड मार्गमा आवश्यक सङ्केत चिह्न तथा साइनबोर्ड राख्न सुझाव दिँदै आगामी संस्करणलाई व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले दौडको दूरी ओख्लेडाँडासम्म विस्तार गर्न सुझाव दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान बढ्दै गएकोमा खुसी व्यक्त गर्दै यसको ब्रान्डिङ र प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै प्रतियोगिता अक्टोबर महिनाको पहिलो सातातिर आयोजना गर्न उहाँले सुझाव दिनुभयो ।
होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगिताले खेल पर्यटन प्रवर्धनमा योगदान पुर्याएको बताउनुभयो ।
सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले खेल पर्यटनसँगै सामाजिक तथा अन्य सकारात्मक उद्देश्यसमेत जोडेर प्रतियोगितालाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले धावकका सामान व्यवस्थापनका लागि आगामी संस्करणमा विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
हस्पिटालिटी पार्टनर मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरका प्रमुख कार्यक्रम सञ्चालन अधिकृत प्रकाश विकले आगामी वर्ष पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेलम्बो नेपालका कार्यक्रम अधिकृत भीम भण्डारीले स्थापनाकालदेखि नै मेडिकल पार्टनरका रूपमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
शुक्रराज माविका प्राचार्य नरनाथ बरालले प्रतियोगिताले पुम्दीभुम्दी क्षेत्रको खेल पर्यटन प्रवर्धनमा सहयोग पुर्याएको उल्लेख गर्दै विद्यालयका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
स्वयम्सेवक परिचालन संयोजक एवम् वडा युवा परिषद् पोखरा महानगरपालिका-२२ का अध्यक्ष दिनेश बरालले तेस्रो संस्करणमा अघिल्ला दुई संस्करणको तुलनामा उल्लेख्य सुधार भएको बताउँदै आगामी दिनमा स्वयम्सेवक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव परशुराम शर्माले प्रतियोगिताले खेलाडी उत्पादन र खेल पर्यटन प्रवर्धनमा टेवा पुर्याएको बताउनुभयो ।
प्रेस स्वतन्त्रताका सेनानी पदम रेग्मीले प्रत्येक वर्ष दौडको मार्ग परिवर्तन गर्दा नयाँ पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने सुझाव दिनुभयो ।
टान गण्डकीका सचिव भूपेन्द्र कुँवर लामाले प्रतियोगितालाई पोखराको ब्रान्डका रूपमा स्थापित गर्न वार्षिक क्यालेन्डरमै मिति तय गर्नुपर्ने बताउनुभयो ।
उहाँले टान गण्डकीको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । पर्यटन विज्ञ दीपेन्द्र पहारी, पत्रकार विजय नेपालीलगायतले प्रतियोगिताका क्रममा देखिएका सामान्य त्रुटि सच्याउँदै आगामी संस्करणलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
पोखरा प्रवर्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा क्षेत्रको समग्र खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइँदै आएको बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायत पर्यटन, सञ्चार तथा खेलकुदसम्बद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।
विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजना हुँदै आएको तेस्रो पर्वतीय दौड प्रतियोगितामा खुलातर्फ नरेन्द्रसिंह रावत, महिलातर्फ दीपा बस्नेत, यू-१६ तर्फ कमल विक, पोखरा-२२ वडातर्फ क्रिशल परियार, भेट्रान्सतर्फ तेजबहादुर गुरुङ र विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन पहिलो हुनुभएको थियो ।
प्रतियोगिता पोखरा महानगरपालिका-२२ को पुम्दीभुम्दी क्षेत्रमा आयोजना गरिएको थियो ।