पोखरा । युवा उद्यमशीलता, नेतृत्व विकास तथा व्यावसायिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कास्की जिल्ला युवा चेम्बर गठन गरिएको छ ।
चेम्बर अफ कमर्स कास्कीको आयोजनामा २०८३ कात्तिक २० गते गठित युवा चेम्बरको अध्यक्षमा दुर्गानाथ लामिछाने (डिएन) सर्वसम्मत चयन भएका छन् ।
नवगठित युवा चेम्बरको उपाध्यक्षमा पवन तिवारी, सचिवमा गोविन्द शर्मा पौडेल र कोषाध्यक्षमा माधव भण्डारी चयन भएका छन् ।
गठन कार्यक्रममा प्रमुख अतिथि यामनाथ पौडेलले युवाहरू देशको आर्थिक तथा व्यावसायिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवीन व्यावसायिक अवधारणाको विकास हुन आवश्यक रहेको बताए ।
उनले युवा चेम्बरले युवाहरूलाई एकताबद्ध गर्दै व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
युवा उद्यमशीलताको प्रवर्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा जिल्लाको आर्थिक विकासमा युवाहरूको सक्रिय सहभागिता बढाउन नवगठित युवा चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।