मानव आवाज

२०८३ कात्तिक २१ गते
00: 00: 00
२०८३ कात्तिक २१ गते

पोखरामा अन्तर्राष्ट्रियस्तरको सुरक्षा तथा आत्मरक्षा तालिम सुरु

पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रियस्तरको सुरक्षा ज्ञान, सीप र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सुरु भएको छ । २०८३ कात्तिक २० गतेदेखि सुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।

गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रालिको आयोजनामा सञ्चालित तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन् ।

तालिममा सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए), हङ्गेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, सीईबीएका प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी, रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्वअधिकारी माइकल न्युटनले प्रशिक्षण दिनेछन् ।

दुई सिफ्टमा सञ्चालन भइरहेको तालिममा ६० जना युवा सहभागी छन् । देशका विभिन्न जिल्लाका युवासँगै प्राकृतिक विपत्तिबाट प्रभावित म्याग्दीको बेनी क्षेत्रमा स्वयम्‌सेवामा खटिएका सामाजिक कार्यमा सक्रिय युवालाई समेत तालिममा सहभागी हुने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ ।

गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा क्षेत्रमा व्यावसायिकता र आधुनिक प्रविधिको प्रयोग बढाउँदै युवालाई अन्तर्राष्ट्रिय सुरक्षा बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताए ।

उनले भने-“हाम्रो उद्देश्य आफ्नै कम्पनीमा जनशक्ति भर्ना गर्नु मात्र होइन, बढीभन्दा बढी नेपाली युवालाई अन्तर्राष्ट्रियस्तरको सीप र ज्ञान प्रदान गरी नेपालसँगै विदेशमा समेत व्यावसायिक अवसर खोज्न सक्षम बनाउनु हो ।”

तालिममा व्यावसायिक सुरक्षा, आत्मरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा, अङ्गरक्षकसम्बन्धी सीप, भीड व्यवस्थापन, जोखिम पहिचान तथा आपत्कालीन प्रतिकार्यलगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

आगामी दिनमा करिब ५ सय युवालाई सुरक्षा क्षेत्रमा आबद्ध गराउने दीर्घकालीन लक्ष्य रहेको सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिका संस्थापक राहुल पाण्डेले जानकारी दिए ।

नेपाल र युरोपबीच सुरक्षा क्षेत्रमा ज्ञान, सीप, प्रविधि तथा व्यावसायिक अवसर आदानप्रदान गर्ने सेतुका रूपमा तालिमलाई विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीलाई मूल्याङ्कनका आधारमा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, योग्यता र छनोटका आधारमा हङ्गेरीमा थप उच्चस्तरीय अङ्गरक्षक तालिममा सहभागी हुने अवसरसमेत उपलब्ध हुन सक्ने आयोजकले जनाएको छ ।

तालिममा सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिका संस्थापक राहुल पाण्डे, गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रालिका निर्देशक इन्जिनियर सागर गौतम र भारतीय सेनाका पूर्वक्याप्टेन कृष्णबहादुर आलेले सहजीकरण गरिरहेका छन् ।

तालिममा सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालि, सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी र डाकोटा सेक्युरिटी सर्भिसेसको सहकार्य रहेको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार