मानव आवाज

२०८३ कात्तिक २० गते
00: 00: 00
२०८३ कात्तिक २० गते

भिमानमा म्याराथन प्रतियोगिता, ३५० जनाको सहभागिता

सिन्धुली । कमलामाई नगरपालिका-९, भिमानमा वडास्तरीय म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्य, खेलकुद तथा आपसी सद्भाव र सामाजिक एकता प्रवर्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता २०८३ कात्तिक १९ गते सम्पन्न भएको हो ।

कमलामाई नगरपालिका वडा नं. ९ र कमलामाई वडास्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ३ सय ५० जनाको सहभागिता रहेको कमलामाई नगरपालिका वडा नं. ९ का वडा सदस्य दिनेश न्यौपानेले जानकारी दिनुभयो ।

बालबालिका, युवा तथा विभिन्न उमेर समूहका नागरिकको सहभागिता रहेको प्रतियोगिता आठ ओटा उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागीहरूले उत्साहपूर्वक आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए । विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले यस्ता प्रतियोगिताले बालबालिका, युवा तथा आम नागरिकमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन, आत्मविश्वास र सामाजिक एकता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

उहाँले खेलकुदले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको क्षमता, मनोवैज्ञानिक अवस्था र सिकाइ उपलब्धि अभिवृद्धि गर्नसमेत मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो ।

खेलकुद विकासमा बालबालिकाको सहभागिता र महत्वबारे चेतना फैलाउन पनि यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले खेलकुद स्वस्थ, अनुशासित र सभ्य समाज निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो ।

खेलकुद बालबालिका तथा युवाका लागि मात्र नभई सबै उमेर समूहका नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उत्तिकै आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

कमलामाई नगरपालिका-९ का वडाध्यक्ष विनोद प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, न्यायिक समितिका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार