मानव आवाज

२०८३ कात्तिक १९ गते
00: 00: 00
२०८३ कात्तिक १९ गते

सुनकोशी-मरिन डाइभर्सनको टेन्डर रद्द गर्ने निर्णयप्रति सिन्धुलीका राजनीतिक दलको आपत्ति

सिन्धुली । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुचर्चित सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टेन्डर प्रक्रिया रद्द गर्ने सरकारी निर्णयप्रति सिन्धुलीका राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाहरूले गम्भीर आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले उक्त निर्णय तत्काल पुनरावलोकन गरी आयोजनाको काम अविलम्ब अघि बढाउन माग गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेल, नेकपा (एमाले) जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति सिन्धुलीका संयोजक चित्रबहादुर लुङ्गेलीले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा राष्ट्रिय महत्त्वको आयोजनालाई रोक्नु वा अनिश्चित बनाउनु सिन्धुलीवासीको विकासको आकाङ्क्षामाथिको प्रहार भएको उल्लेख गरिएको छ ।

राजनीतिक दलहरूले राष्ट्रिय गौरवको आयोजना कुनै व्यक्ति वा दल विशेषको नभई सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति र समृद्धिको आधार भएको बताएका छन् ।

सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादन गर्ने तथा तराईका आठ जिल्लामा सिँचाइ सुविधा विस्तार गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

सुरुङ निर्माणको कामसमेत सम्पन्न भइसकेको अवस्थामा टेन्डर प्रक्रिया रद्द गरिनुले यस क्षेत्रको विकास, रोजगारी सिर्जना, आर्थिक समृद्धि र स्थानीय जनताको जीवनस्तर सुधारमा गम्भीर असर पार्ने सिन्धुली क्षेत्र नं. २ का पूर्वसांसद लेखनाथ दाहालले बताउनुभएको छ । ।

राष्ट्रिय महत्त्वका आयोजनालाई पर्याप्त औचित्य, पारदर्शिता र स्पष्ट विकल्पबिना अलपत्र पार्ने प्रवृत्तिले विकास निर्माणमा नकारात्मक असर पार्ने भन्दै सिन्धुलीवासीले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गरी बुझाइएको ध्यानाकर्षण पत्रमा आयोजनाको टेन्डर रद्द गर्ने निर्णय तत्काल पुनरावलोकन गर्न, आयोजनालाई निरन्तरता दिन आवश्यक प्रशासनिक, प्राविधिक तथा आर्थिक प्रक्रिया अघि बढाउन र आयोजना रोक्नु वा ढिलाइ हुनुको स्पष्ट कारण सार्वजनिक गरी जनतालाई यथार्थ जानकारी गराउन माग गरिएको छ ।

त्यसैगरी, राष्ट्रिय गौरवका आयोजनालाई राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि राखी राष्ट्रिय हित र जनताको विकासको आवश्यकताअनुसार सञ्चालन गर्न तथा आयोजनाको काम निर्धारित लक्ष्यअनुसार सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गर्न पनि माग गरिएको छ ।

सिन्धुलीका राजनीतिक दल तथा सरोकारवालाहरूले राष्ट्रिय गौरवको यस आयोजनालाई निरन्तरता दिन सबै पक्ष एकजुट हुन आह्वान गरेका छन् ।

सरकारले यस विषयमा गम्भीर चासो नदिई आयोजनालाई अघि नबढाए थप कडा कदम चाल्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार