मानव आवाज

२०८३ कात्तिक १७ गते
00: 00: 00
२०८३ कात्तिक १७ गते

स्थानीय तहमा समावेशिताको अवस्था र लक्षित वर्गको पहुँचबारे अन्तरक्रिया

सिन्धुली । स्थानीय तहमा समावेशिताको अवस्था, लक्षित वर्गको हकहितको संरक्षण तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधामा समान पहुँच सुनिश्चित गर्ने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय समावेशी आयोगको आयोजना तथा कमलामाई नगरपालिकाको सहजीकरणमा २०८३ कात्तिक १६ गते सिन्धुलीको माढीमा कार्यक्रम सम्पन्न भएको हो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य एवम् प्रवक्ता पुष्पराज तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा आयोगका सदस्य मानप्रसाद खत्री, सचिव सुरेन्द्र पौडेल, नगर उपप्रमुख मञ्जु देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेल, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू, विभिन्न समावेशी समूहका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नगरप्रमुख पोखरेलले स्थानीय तहमा समावेशिताको प्रभावकारी कार्यान्वयन, लक्षित वर्गको हकहित र अधिकार संरक्षण तथा राज्यबाट उपलब्ध हुने सेवा–सुविधामा सबैको समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको संविधान, २०७२ ले व्यवस्था गरेका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउँदै राज्यबाट पछाडि पारिएका वर्ग, जातजाति, भाषाभाषी तथा समुदायको संस्कृति संरक्षणमा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

विकास निर्माणका काममा समावेशी सहभागिताको आधारमा सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार