मानव आवाज

२०८३ असोज १२ गते
00: 00: 00
२०८३ असोज १२ गते

एसियाडमा कास्य जित्ने कबड्डी खेलाडी राजवंशी र प्रशिक्षक राईलाई सम्मान गरिने

विराटनगर । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुद (एसियाड) मा कास्य पदक जित्न सफल नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य मेनुका राजवंशी र प्रशिक्षक पार्वती राईलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले नगदसहित सम्मान गर्ने भएको छ ।

बोर्डले कास्य पदक विजेता टोलीकी सदस्य राजवंशीलाई १ लाख रुपियाँ र प्रशिक्षक राईलाई २५ हजार रुपियाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्यसचिव विप्लव घोषले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल खेलाडी र प्रशिक्षकको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका राजवंशी र राईले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कौशल प्रस्तुत गर्दै राष्ट्रसँगै प्रदेशको नामसमेत उच्च बनाएका छन् । त्यसैले बोर्डको तर्फबाट नगदसहित सम्मान गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

सदस्यसचिव घोषले राष्ट्र तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशका खेलाडीलाई सम्मान गर्ने बोर्डको कार्यक्रमअन्तर्गत राजवंशी र राईलाई सम्मान गर्न लागिएको बताउनुभयो । सम्मान कार्यक्रमको मिति भने छिट्टै तय गरिने उहाँले जानकारी दिनुभयो ।

जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोली भारतसँग सेमिफाइनलमा पराजित भएपछि कास्य पदकमा सीमित भएको हो । नेपालको महिला कबड्डी टोलीले एसियाली खेलकुदमा पहिलोपटक पदक जितेको हो ।

Author

सम्बन्धित समाचार