मानव आवाज

२०८३ असोज १ गते
00: 00: 00
२०८३ असोज १ गते

संविधान दिवसमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता हुँदै

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसरमा रोड रेस तथा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोग तथा समन्वयमा बोर्डले असोज १ र २ गते ब्याडमिन्टन तथा असोज २ गते रोड रेस आयोजना गर्न लागेको हो ।

बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायलगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहनेछ। प्रतियोगिता महिला र पुरुष गरी दुई विधामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार रुपियाँ, दोस्रोले २० हजार रुपियाँ र तेस्रो हुने टोलीले १५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्राप्त गर्नेछन् । ब्याडमिन्टनका खेलहरू विराटनगरस्थित शहीद रङ्गशालाको कभर्ड हलमा सञ्चालन हुनेछन् ।

यसैगरी, रोड रेसअन्तर्गत ५० वर्षभन्दा माथिका लागि २ किलोमिटर र १५ वर्षभन्दा कम उमेर समूहका लागि ३ किलोमिटर दौड आयोजना गरिने भएको छ । दुवै उमेर समूहमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

रोड रेसमा प्रथम हुनेलाई २५ हजार रुपियाँ, दोस्रोलाई २० हजार रुपियाँ र तेस्रोलाई १५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिने सदस्यसचिव घोषले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० वर्षभन्दा माथिको उमेर समूहको दौड शहीद रङ्गशाला-शनिहाट चोक-मेनरोड-जलजला चोक-हस्पिटल चोक हुँदै शहीद रङ्गशाला पुगेर टुङ्गिनेछ ।

त्यस्तै, १५ वर्षभन्दा कम उमेर समूहको दौड शहीद रङ्गशाला-तीनपैनी-गोल्छा चोक-जलजला चोक-हस्पिटल चोक हुँदै शहीद रङ्गशाला पुगेर सम्पन्न हुनेछ ।

Author

सम्बन्धित समाचार