मानव आवाज

२०८३ असोज ३ गते
00: 00: 00
२०८३ असोज ३ गते

यु–१५ रोड रेसमा तुम्सिङ्ग र कार्की प्रथम, भेट्रानमा राई र तामाङ विजयी

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसरमा आयोजना गरेको रोड रेस प्रतियोगितामा यु-१५ छात्रतर्फ उज्ज्वल तुम्सिङ्ग र छात्रातर्फ अनिशा कार्की पहिलो हुनुभएको छ ।

विराटनगरस्थित शहीद रङ्गशालाबाट सुरु भई सोही स्थानमा सम्पन्न ३ किलोमिटर रोड रेसमा तुम्सिङ्ग र कार्कीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गर्नुभएको हो ।

छात्रतर्फ समिर राजवंशी दोस्रो र सनम आङदेम्बे तेस्रो हुनुभयो । छात्रातर्फ रजिना राई दोस्रो र निमा राई तेस्रो हुनुभयो ।

त्यस्तै, ५० वर्षमाथिको २ किलोमिटर भेट्रान रेसको पुरुषतर्फ विजयकुमार राई पहिलो, अविनारायण अधिकारी दोस्रो र मङ्गल तामाङ तेस्रो हुनुभयो । महिलातर्फ कौशिला तामाङ पहिलो, रिताकुमारी चौधरी दोस्रो र चन्द्रकला कामत तेस्रो हुनुभयो ।

‘स्वस्थ नागरिक, गतिशील संविधान’ नारासहित आयोजित प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिने बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो ।

पुरस्कार संविधान दिवसका दिन कोशी प्रदेश सरकारले आयोजना गर्ने मूल समारोहमा प्रदान गरिने बताइएको छ ।

ब्याडमिन्टनमा लिम्बू-श्रेष्ठ र राई-लिम्बूको जोडी पहिलो

बोर्डकै आयोजनामा कोशी प्रदेशका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायलगायत सरकारी निकायका प्रतिनिधिको सहभागितामा भएको ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ सुवास लिम्बू र प्रदीपकुमार श्रेष्ठको जोडी पहिलो भएको छ ।

फाइनलमा शान्तकुमार राई र दिनेश राईको जोडीलाई पराजित गर्दै लिम्बू-श्रेष्ठको जोडीले उपाधि जितेको हो । दिलकुमार आचार्य-तोत्र खड्का र सुरज रानामगर-इन्द्र राईको जोडी संयुक्त रूपमा तेस्रो भए ।

महिला डबल्सतर्फ सुजन राई-लिला लिम्बूको जोडी पहिलो, सानु जोशी-बिमला श्रेष्ठको जोडी दोस्रो तथा शिक्षा कार्की-पशुपति बस्नेत र अञ्जु सुवेदी-विनिता शाहको जोडी संयुक्त रूपमा तेस्रो भए ।

ब्याडमिन्टनमा पहिलो, दोस्रो र तेस्रो हुने जोडीलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिने सदस्य सचिव घोषले बताउनुभयो । २०८३ असोज १ गतेदेखि सुरु भएको प्रतियोगिता दोस्रो दिन सम्पन्न भएको हो ।

Author

सम्बन्धित समाचार