विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले खेलकुद सङ्घ तथा संस्थाहरूको दर्ता, नवीकरण र आवद्धता शुल्क घटाएको छ ।
बोर्डको बैठकले ‘खेल सङ्घ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मार्गदर्शन’मा रहेको शुल्कसम्बन्धी व्यवस्था संशोधन गर्दै विभिन्न शीर्षकमा लिइँदै आएको शुल्क घटाएको हो ।
संशोधित शुल्कअनुसार जिल्ला खेलकुद सङ्घको दर्ता शुल्क ८ हजार रुपियाँबाट घटाएर १ हजार ५ सय रुपियाँ र नवीकरण शुल्क ५ हजारबाट १ हजार रुपियाँ कायम गरिएको छ ।
त्यस्तै, प्रदेश खेलकुद सङ्घको दर्ता शुल्क १५ हजार रुपियाँबाट २ हजार ५ सय तथा नवीकरण शुल्क १० हजारबाट घटाएर १ हजार ५ सय रुपियाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, जिल्ला स्तरीय खेल संस्थाको आवद्धता शुल्क ५ हजार रुपियाँबाट घटाएर १ हजार रुपियाँ र प्रदेश स्तरीय खेल सङ्घको आवद्धता शुल्क १० हजारबाट ५ हजार रुपियाँ कायम गरिएको छ ।
जिल्ला स्तरीय खेल संस्थाको नवीकरण शुल्क २ हजारबाट १ हजार रुपियाँ तथा प्रदेश स्तरीय खेल संस्थाको नवीकरण शुल्क ५ हजारबाट घटाएर २ हजार १ सय रुपियाँ निर्धारण गरिएको बोर्डले जनाएको छ ।
बोर्डका सदस्य सचिव विप्लव घोषले खेलकर्मीहरूले विभिन्न समयमा उठाउँदै आएको मागलाई सम्बोधन गर्दै खेल सङ्घ तथा संस्थालाई प्रवर्धन र सहजीकरण गर्ने उद्देश्यले शुल्क संशोधन गरिएको बताउनुभयो ।
घोषका अनुसार न्यून शुल्क निर्धारण गरेपछि जिल्लामा सक्रिय रहे पनि जिल्ला खेलकुद विकास समितिको सम्पर्कमा नआएका खेल सङ्घ तथा संस्थाहरूलाई समेत दर्ता र आवद्धताका लागि प्रोत्साहन मिल्ने बोर्डले अपेक्षा गरेको छ ।
संशोधित शुल्कअनुसार आवश्यक व्यवस्था गर्न जिल्लास्थित खेलकुद विकास समितिहरूलाई बोर्डबाट पत्राचार गरिसकिएको सदस्य सचिव घोषले जानकारी दिनुभयो ।