मानव आवाज

२०८३ भदौ २३ गते
00: 00: 00
२०८३ भदौ २३ गते

बेरुजु फर्छ्यौटमा कोशी प्रदेश खेलकुद बोर्ड सक्रिय

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रका नाममा देखिएको बेरुजु फर्छ्यौट गर्न सक्रियता बढाएसँगै कोशी प्रादेशिक क्रिकेट सङ्घले ६ लाख रुपियाँ फिर्ता गरेको छ ।

सङ्घले आर्थिक वर्ष २०८०/८१ मा अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको छनोट खेल तथा तयारीका लागि बोर्डमार्फत प्राप्त गरेको ६ लाख रुपियाँ बेरुजु देखिएको थियो ।

बेरुजु फर्छ्यौटका लागि सङ्घले २०८३ भदौ १७ गते सामाजिक विकास मन्त्रालयको खातामा उक्त रकम जम्मा गरी फर्छ्यौट गरिदिन बोर्डसमक्ष निवेदनसमेत दर्ता गराएको हो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले जिल्ला खेलकुद समिति तथा विभिन्न खेल सङ्घमार्फत खेलकुद प्रतियोगिता सञ्चालनका लागि उपलब्ध गराइएको रकम लामो समयदेखि बेरुजु देखिँदै आएको भन्दै त्यस्ता बेरुजु फर्छ्यौट गर्न बोर्डले सक्रियतापूर्वक काम गरिरहेको बताउनुभयो ।

खेल क्षेत्र र खेलाडीका लागि लगानी गरिएको रकम विभिन्न कारणले बेरुजु देखिँदा त्यसले समग्र खेल क्षेत्रमाथि नै प्रश्न उठ्ने भएकाले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखिएको घोषको भनाइ छ ।

उहाँका अनुसार बोर्डले विगतमा देखिएका बेरुजु तथा असुलउपर गर्नुपर्ने रकमको विवरण सङ्कलन गरी सम्बन्धित निकायसँग समन्वय गर्दै फर्छ्यौटको प्रक्रिया अघि बढाएको छ ।

यसै क्रममा बोर्डले चालु आर्थिक वर्षमा जिल्ला खेलकुद विकास समिति खोटाङसँग असुलउपर गर्नुपर्ने ८ लाख रुपियाँसमेत असुल गरिसकेको छ ।

यस्तै, जिल्ला खेलकुद विकास समिति तेह्रथुमका नाममा हिनामिना भएको २५ लाख रुपियाँभन्दा बढी रकम असुल गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ ।

बोर्डले खेलकुद क्षेत्रमा सरकारी स्रोतबाट विनियोजन भएको रकमको पारदर्शिता र जबाफदेहिता कायम गर्न बेरुजु फर्छ्यौट तथा असुलउपरको प्रक्रियालाई थप प्रभावकारी बनाउने जनाएको छ ।

Author

सम्बन्धित समाचार