मानव आवाज

२०८३ भदौ १६ गते
00: 00: 00
२०८३ भदौ १६ गते

बाढीले घर मात्रै बगाएन, विक्रमको संसारै बगायो

काठमाडौँ ।  भोटेकोशीको बाढीले रसुवाका विक्रम थापामगरको घर मात्रै बगाएन, उनको संसारै बगायो । बुबासहित १६ जना आफन्त बाढीपछि सम्पर्कविहीन छन् । कोही कहाँ छन्, जीवित छन् कि छैनन्-कुनै खबर छैन । आफ्नै आँखाअगाडि घरघडेरी, जग्गाजमिन र वर्षौंको मेहनत बगाएको पीडा त छँदैछ, त्यसैमाथि आफ्ना मानिसहरूको अत्तोपत्तो नहुँदाको पीडा बोकेर विक्रम अहिले काठमाडौंमा छन् । तर, आफ्ना लागि होइन । उनी काठमाडौं आएका छन्-बाढीबाट बाँचेका आफ्ना गाउँलेका लागि राहत जुटाउन । उत्तरगया गाउँपालिका-५ का विक्रमले भोटेकोशीको त्यो कहालीलाग्दो रूप आफ्नै आँखाले देखे । सूचना आएको पाँच मिनेटजति मात्रै भएको थियो । तर त्यो पाँच मिनेटमा पनि भागेर ज्यान जोगाउने समय रहेनछ । बाढीको सूचना दिँदै गाउँगाउँ हिँडिरहेका गाउँपालिकाका कर्मचारी जनकराज आचार्यलाई नै बाढीले बगायो ।

त्यो क्षण सम्झँदा विक्रमको मन अझै काँप्छ । बाढीको वेग यति तीव्र थियो कि मानिसले निर्णय लिन नपाउँदै विपत्ति घरदैलोमा आइपुग्यो । कसैले बालबालिका बचाउन खोज्यो, कसैले वृद्धवृद्धालाई तान्यो, कसैले घर छाडेर भाग्न खोज्यो । तर, भोटेकोशीको भेलले कसैलाई मौका दिएन । विक्रमकी छोरी पनि स्कुलको गाडीमा थिइन् । गाडीमा करिब ३५-४० जना बालबालिका थिए । बाढीको खतरा देखेपछि चालकले गाडी अलिक अग्लो ठाउँमा लैजाने र बालबालिकालाई झारेर सुरक्षित गर्ने प्रयास गरे । केही बालबालिका अलिक माथि पुगिसकेका थिए । तर, त्यसअघि नै भेलले गाडीलाई छोप्यो । ३५–४० बालबालिकासहितको त्यो गाडी नै बाढीले बगाएर लग्यो । विक्रमकी छोरी मृत्युको मुखबाट बालबाल बचिन् । छोरी उनको आँखाअगाडि छिन् । तर, बुबासहित १६ जना आफन्त कहाँ छन् भन्ने अझै थाहा छैन ।

एउटै बाढीले उनलाई एकैपटक दुई विपरीत अनुभूति दियो-मृत्युको मुखमा पुगेकी छोरी बाँचेको राहत र आफ्ना मानिसहरू हराएको असीम पीडा । उनका बुबाको कथा झन् पीडादायी छ । ‘खाना खाएर भाग्छु’ भन्दै बुबा घरमै खाना खान थाल्नुभएको थियो । तर, खाना सकिन नपाउँदै बाढी घरमा आइपुग्यो । घरसँगै उहाँलाई पनि बाढीले लग्यो । विक्रमको आवाजमा त्यो घटना सुनाउँदा शब्दभन्दा बढी पीडा सुनिन्छ ।

बाढीपछि गाउँको अवस्था झन् भयावह बनेको छ । गाउँमा यतिधेरै शव छन् कि शङ्का मात्रै गर्न सकिन्छ । बगरसम्म पुगेर हेर्न कसैले भ्याएको छैन । केही शव कुहिन थालेका बुझ्न सकिन्छ । दुर्गन्ध फैलिन थालेको छ । आकाशमा कौवा र गिद्ध फनफनी घुमिरहेका छन् । स्याल र कुकुरले शव लुछ्न थालेका छन् । अब यो बाढीको विपत्ति मात्रै रहेन । बाँचेकाहरूका लागि अर्को ठूलो जोखिमसमेत थपिएको छ-दुर्गन्ध र सडिरहेका शवबाट फैलिन सक्ने रोग तथा महामारीको डर ।

तर, विक्रमसँग आफ्नै दुःखमा रोकिने समय छैन । उनको आफ्नै घर छैन । आफ्ना आफन्तको अवस्था थाहा छैन । बुबाको खबर छैन । छोरीलाई मृत्युको मुखबाट बचाएको त्रासदीपूर्ण दृश्य मनबाट हटेको छैन । तैपनि उनी अरू गाउँलेको भोक सम्झिरहेका छन् । उनी भन्छन्, बाढीले सबैभन्दा बढी उत्तरगया गाउँपालिका-१, ४ र ५ मा क्षति पुर्‍याएको छ । घरहरू बगेका छन् । खेतबारी बगेका छन् । परिवारहरू विस्थापित भएका छन् । कतिपयसँग बस्ने ठाउँ छैन । कतिपयसँग खाने अन्न छैन । स्थानीय तह र नागरिकको आपसी सहयोगले अहिलेसम्म धेरैलाई जसोतसो धानेको छ । जसको घर बचेको छ, उसले घरबारविहीनलाई ओत दिएको छ । जसको घरमा केही अन्न बाँकी छ, उसले छिमेकीसँग बाँडेको छ । कसैले पानी दिएको छ, कसैले खाना । तर यो सहयोगले कति दिन धान्ला ?

यही प्रश्नले विक्रमलाई काठमाडौंसम्म ल्याइपुर्‍याएको हो । उनी अहिले जनजाति महासङ्घ रसुवाका अध्यक्षसमेत हुन् । आफ्नो गाउँको अवस्था उनले देखेका छन् । बाढीले छोडेर गएको सङ्कट उनले भोगेका छन् । त्यसैले उनलाई थाहा छ-तत्काल राहत नपुगे आगामी दिन अझ कठिन हुनेछन् । तर, उनको मनमा एउटा प्रश्न भने बारम्बार उठिरहेको छ-यस्तो विपत्तिमा राज्य कहाँ छ ?विक्रमका अनुसार बाढीपछि सरकार नुवाकोटको विदुरभन्दा माथि प्रभावकारी रूपमा पुग्न सकेको छैन । रसुवामा नै छँदा आकाशतिर हेलेकप्टर देखेका विक्रमले काठमाडौं आएपछि सामाजिक सञ्जालमा देखे कि रसुवामा हेलिकप्टर र र राहतको लर्को ।  हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्रको निरीक्षण गरिएका दृश्य उनले सामाजिक सञ्जालबाटै देखे । सरकार हेलिकप्टरमा बाढीग्रस्त क्षेत्रमाथि उडिरहेको कुरा उनले सामाजिक सञ्जालबाटै थाहा पाए । तर, गाउँमा राज्यको उपस्थिति अनुभूति गर्न नसकेको उनको गुनासो छ ।

आकाशबाट बाढी हेर्न सकिन्छ । भत्किएका घर देखिन्छन् । बगेका सडक देखिन्छन् । उर्लिरहेको नदी देखिन्छ । तर हेलिकप्टरबाट पीडितको आँखामा जमेको डर देखिँदैन । भोकले रोइरहेको बच्चा देखिँदैन । हराएको बुबाको बाटो हेरेर बसेको परिवार देखिँदैन । शवको दुर्गन्धमा बाँचिरहेका मानिसको त्रास देखिँदैन । अनि भोलि बिहान के खाने भन्ने चिन्ताले रातभर नसुत्ने विस्थापितको बेचैनी पनि देखिँदैन । विक्रमले आफ्नै जीवनबाट यो सबै भोगिरहेका छन् । उनका आफ्नै बुबा हराएका छन् । बुबासहित १६ जना आफन्तको कुनै खबर छैन । आफ्नै घरघडेरी र जग्गाजमिन बाढीले बगाएको छ । छोरी मृत्युको मुखबाट बचेकी छन् ।

तर उनी यी सबै पीडा छातीमा बोकेर अरूका लागि राहत खोजिरहेका छन् । यो सायद विपत्तिको सबैभन्दा पीडादायी र मानवीय दृश्य हो-जसको आफ्नै घर छैन, ऊ अरूका लागि राहत खोजिरहेको छ । जसका आफ्नै आफन्त हराएका छन्, ऊ गाउँका बाँचेका मानिसलाई भोकै नराख्न दौडिरहेको छ । जसको आफ्नै भविष्य अनिश्चित छ, ऊ अरूको भविष्य जोगाउन राज्यसँग गुहार मागिरहेको छ । भोटेकोशीको पानी घट्दै जाला । भेल रोकिएला । बाढीको आवाज पनि विस्तारै शान्त होला । तर रसुवाको पीडा यति चाँडै शान्त हुने छैन । बाढीले घर मात्र बगाएको छैन । यसले परिवार बगाएको छ । अन्न बगाएको छ । खेतबारी बगाएको छ । रोजगारी बगाएको छ । वर्षौंको मेहनत बगाएको छ । अनि धेरैको भविष्यसमेत बगाएको छ । अब पीडितलाई उद्धारको होइन, जीवन फेरि सुरु गर्न सक्ने आधारको आवश्यकता छ । हराइरहेका मानिसको खोजी तीव्र हुनुपर्छ । शवको व्यवस्थापन तत्काल हुनुपर्छ । विस्थापितलाई सुरक्षित बसोबास दिनुपर्छ । खानेकुरा, स्वच्छ पानी, औषधि र अत्यावश्यक सामग्री गाउँगाउँ पुर्‍याउनुपर्छ । महामारीको जोखिम रोक्न तत्काल स्वास्थ्य टोली परिचालन गर्नुपर्छ ।

र, सबैभन्दा महत्वपूर्ण-राज्यको उपस्थिति हेलिकप्टरको आकाशमा होइन, पीडितको आँगनमा देखिनुपर्छ । विक्रम अझै आफ्ना बुबासहित १६ जना आफन्त फर्किने आशामा छन् । सायद कुनै दिन कसैले फोन गरेर भन्नेछ-‘तपाईंका मानिस भेटिए ।’ त्यो एउटा फोनको प्रतीक्षा उनका लागि संसारकै सबैभन्दा ठूलो प्रतीक्षा हो । त्यही प्रतीक्षाबlच पनि उनी आफ्नो गाउँका मानिसलाई भोकै बस्न नदिन दौडिरहेका छन् । उनको आफ्नै संसार भोटेकोशीले बगाइसकेको छ । तर, उनले अरूको संसार बग्न नदिन आफूलाई समर्पित गरेका छन् । उनको आँखामा आफ्ना हराएका आफन्तको खोजी छ, छातीमा आफ्नै घर गुमाएको पीडा छ, तर आवाजमा सिङ्गो रसुवाका पीडितको पुकार छ-अब राज्य हेलिकप्टरबाट होइन, गाउँमै पुगेर देखिनुपर्छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार