मानव आवाज

२०८३ असार २४ गते
00: 00: 00
२०८३ असार २४ गते

कोशी प्रदेश खेलकुद बोर्डद्वारा १ सय बढी खेलाडी, खेलकर्मी र पत्रकार सम्मानित

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले १ सयभन्दा बढी खेलाडी, अग्रज खेलकर्मी तथा खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा बोर्डले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई सम्मान गरेको हो ।

बोर्डले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पदकका आधारमा नगदसहित सम्मान गरेको छ ।

एसबिआई प्रथम दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने कोशी प्रदेशका खेलाडी प्रतिभा राई र सुनिता भुजेललाई जनही १ लाख रुपियाँ प्रदान गरिएको छ । उक्त टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजार रुपियाँसहित सम्मान गरिएको छ ।

त्यसैगरी राष्ट्रिय कुस्ती, ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ, ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप, २०औँ राष्ट्रिय जुडो, २५औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो, एनएसए कप पौडी च्याम्पियनसिप, राष्ट्रिय बुद्धिचाल, नेकोस राष्ट्रिय महिला क्रिकेट तथा ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको छ ।

ती प्रतियोगिताका प्रशिक्षक र व्यवस्थापकलाई जनही १० हजार रुपियाँसहित सम्मान गरिएको बोर्डले जनाएको छ ।

बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार राष्ट्रिय यू–२० एथलेटिक्स च्याम्पियनसिपलगायत जुनियर प्रतियोगिताका कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार रुपियाँ प्रदान गरिएको छ ।

दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिस यू–२३ सिङ्गल्स (क्लास–७) मा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि ५० हजार रुपियाँसहित सम्मान गरिएको घोषले जानकारी दिए ।

१३ अग्रज खेलकर्मी र पाँच खेलकुद पत्रकार सम्मानित

कार्यक्रममा कोशी प्रदेश तथा राष्ट्रिय खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका १३ जना अग्रज खेलकर्मीलाई जनही २५ हजार रुपियाँसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेमा भारोत्तोलनका पार्थ सारथी सेन गुप्ता, गणेशप्रसाद दुलाल, एथलेटिक्सका नारायण यादव र नारायणबहादुर प्रधान, ब्याडमिन्टनका उदयकुमार अर्याल, तेक्वान्दोका कुलबहादुर गुरुङ, टेबलटेनिसका विकेन थापा, फुटबलका मनिष तिम्सिना र भगिरथ आले, करातेका कुविरमान राई र कुशल श्रेष्ठ, जुडोका गङ्गाबहादुर खड्का तथा आईटीएफ तेक्वान्दोका राजेन्द्र धिमाल रहेका छन् ।

खेलकुद पत्रकारतामार्फत प्रदेशको खेलकुद विकासमा योगदान पुर्‍याएको भन्दै मोरङका विनोद भण्डारी, सुनसरीका अर्जुन सुवेदी र अमर काफ्ले, ओखलढुङ्गाका नवराज कार्की तथा इलामका नमिन ढकाललाई जनही ११ हजार रुपियाँसहित सम्मान गरिएको छ ।

यस्तै, नेपाली क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल तथा बोर्डका उत्कृष्ट कर्मचारीमध्ये कार्यालय प्रमुख विमल पोखरेल, राजीव सुवेदी र नरकुमार बस्नेतलाई पनि जनही १० हजार रुपियाँसहित सम्मान गरिएको छ ।

सम्मानित खेलाडी, खेलकर्मी र पत्रकारलाई बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल र सदस्यसचिव विप्लव घोषले सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

Author

Share the News

Recent News

Related News