सिन्धुली । टन्टलापुर घाम होस् वा दर्किने पानी, सिन्धुलीमाढीको सडक किनारमा बसिरहेकी कल्पना विकलाई मौसमले खासै फरक पार्दैन । हातमा आगोको ताप, अगाडि पोलेको मकै र अनुहारमा जीवनसँगको सङ्घर्ष-यही नै उहाँको दैनिकी ।
सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका-१२ की कल्पना कहिले बीपी राजमार्गको छेउमा त कहिले बजारका रुखमुनि बसेर मकै पोल्दै गरो भेटिनुहुन्छ । सिजनअनुसार काँक्रो, भुइँकटहर, तरबुजा लगायतका फलफूल बेच्ने गरे पनि अहिले हरियो मकैको समय भएकाले उहाँको मुख्य आम्दानी पोलेको मकै नै बनेको छ ।
बिहान सबेरै उठेर दिउँसो बेच्ने सामान तयार पार्नु, बजारबाट मकै ल्याउनु अनि दिनभर सडक किनार वा फुटपाथमा बसेर व्यापार गर्नु उहाँको नियमित काम हो । वर्षौंदेखि यस्तै सङ्घर्षपूर्ण जीवन बिताउँदै आउनुभएकी कल्पना दिनको ३ सयदेखि ५ सय रुपियाँसम्म आम्दानी हुने बताउनुहुन्छ ।
“पहिले यही सिजनमा दिनमा दुई बोरा जति मकै बिक्री हुन्थ्यो ।”-उहाँले भन्नुभयो-“अहिले पानी र हावाहुरीका कारण एक बोरा बेच्न पनि धौधौ भइरहेको छ ।”
आजभोलि उहाँ कहिले मालपोत कार्यालयको छेउमा त कहिले जिल्ला प्रशासन कार्यालय अगाडि बसेर मकै बेचिरहेको भेटिनुहुन्छ । हाटबजार लाग्ने दिनमा भने अन्य दिनको तुलनामा केही बढी व्यापार हुने उहाँको अनुभव छ ।
तर, मौसमको प्रतिकूलताले उहाँको व्यापारलाई निकै असर पुर्याएको छ । वर्षा र हावाहुरीका कारण सामान जोगाउनसमेत मुस्किल हुने गरेको उहाँ सुनाउनुहुन्छ ।

“पानी परेपछि प्लास्टिकले सामान छोप्छु ।”-उहाँले भन्नुभयो-“कहिलेकाहीँ सामान जोगाउँदा आफू नै पानीमा भिज्नुपर्छ ।”
चार सदस्यीय परिवारको सम्पूर्ण जिम्मेवारी अहिले प्रायः उहाँकै काँधमा छ । पतिको साथ नपाएको गुनासो गर्ने उहाँले एक छोरीमा शारीरिक अपाङ्गता रहेको र छोरा अध्ययनरत रहेका बताउनुभयो ।
“छोराछोरीको पढाइ सहज होस् भनेर सिन्धुलीमाढीमा बसेको झण्डै १० वर्ष भयो ।”-उहाँले भावुक हुँदै भन्नुभयो-“यही व्यापारबाट आएको थोरै फाइदाले कोठाभाडा तिर्छु, छोराछोरी पढाउँछु । अहिले त कोठाभाडा तिर्न पनि गाह्रो भइरहेको छ ।”
उहाँका अनुसार अहिलेको आम्दानीले परिवार धान्न कठिन बन्दै गएको छ । दैनिक खर्च, कोठाभाडा र बालबच्चाको पढाइ मिलाउन उहाँ सङ्घर्ष गरिरहनुभएको छ । सन्तानकै भविष्यका लागि आफूले यो पेशा नछाड्ने उहाँको अठोट छ ।
“मकै पोल्नेको मन पनि पोलिरहेको हुन्छ भन्ने कुरा धेरैले बुझ्दैनन् ।”-उहाँले थकित मुद्रामा भन्नुभयो-“जति सक्छु, जहिलेसम्म सक्छु, छोराछोरीकै लागि यही काम गरिरहन्छु । आशा छ, कोही नहुनेहरूको भगवान् हुन्छन् रे, मेरा पनि होलान् ।”