मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

हरिहरपुरगढीमा छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकामा छैटौं अध्यक्ष कप फुटबल प्रतियोगिता-२०८३ सुरु भएको छ ।

युवा तथा खेलकुद विकास समिति हरिहरपुरगढीद्वारा आयोजित प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बज्रध्वज वाईबाले गर्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष वाईबाले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

उहाँले खेल मैदानका लागि बजेट विनियोजन गरी सौन्दर्यपूर्ण बनाइएको उल्लेख गर्दै यसले खेलाडीलाई थप हौसला मिलेको धारणा राख्नुभयो ।

आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गरेर खेलमैदानलाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो  ।

उहाँले खेलाडीहरूले मनोरञ्जनका लागि मात्र नभई गाउँपालिकाको नाम उच्च राख्ने उद्देश्यसहित खेलमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेलकुदलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले खेलाडीहरूले रेफ्रीको निर्णयको सम्मान गर्दै अनुशासित र मर्यादित ढङ्गले आफ्नो प्रतिभा प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन आयोजक पक्षलाई समन्वय, सहकार्य र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमलकुमार राई, वडा नम्बर २ का अध्यक्ष विश्व राई, वडा नम्बर ३ का अध्यक्ष कुलबहादुर भोलन, वडा नम्बर ५ का अध्यक्ष साइला लामा, वडा नम्बर ६ का अध्यक्ष एकबहादुर मोक्तान, वडा नम्बर ७ का अध्यक्ष बीचबहादुर मोक्तान तथा वडा नम्बर ८ का अध्यक्ष धनबहादुर मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा गाउँपालिकाका आठओटै वडाबाट महिला र पुरुषतर्फ आठआठ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पुरुषतर्फ विजेता टोलीले नगद १ लाख रुपियाँ तथा उपविजेताले ५० हजार रुपियाँसहित शिल्ड र मेडल प्राप्त गर्नेछन् ।

त्यसैगरी महिलातर्फ विजेताले ४० हजार रुपियाँ र उपविजेताले २० हजार रुपियाँसहित शिल्ड र मेडल प्राप्त गर्नेछन् ।

युवा तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता २०८३ जेठ २ गतेसम्म चल्नेछ ।

Author

Share the News

Recent News

Related News