तथ्य, तर्क र परिवर्तनको आवाजलाई मूल आधार मानेर सुरु भएको ‘मानव आवाज डट कम’ आज आफ्नो पहिलो वर्ष पार गर्दै दोस्रो वर्षमा प्रवेश गरेको छ । एक वर्ष समयको एउटा घडी पार गर्नु मात्रै होइन, बरु प्रतिबद्धताहरू व्यवहारमा कति रूपान्तरण भए भन्ने परीक्षणको चरण पनि हो । सुरुवातमा हामीले भ्रामक सूचना, पूर्वाग्रह र शक्तिकेन्द्रित समाचार प्रवृत्तिविरुद्ध उभिने उद्घोष गरेका थियौं । एक वर्षको यात्रामा, ती चुनौतीहरू अझ जटिल रूपमा हाम्रो सामु उभिएका छन् । डिजिटल माध्यमको तीव्र विस्तारसँगै सूचना छिटो फैलिएको छ । त्यससँगै असत्य र अर्धसत्य सूचना पनि उत्तिकै वेगमा फैलिएका छन् । यस्तो परिवेशमा सत्यको पक्षमा उभिनु केवल विकल्प होइन-यो जिम्मेवारी हो ।
यो अवधिमा ‘मानव आवाज डट कम’ ले नीति-निर्माण, सुशासन, सामाजिक न्याय र जनअधिकारका विषयहरूलाई निरन्तर उठाउँदै आएको छ । विशेष गरी सामाजिक विषयमा कलम र माइक चलाउँदै आएको छ । मानवअधिकारका विषयमा तयार पारिएका सामग्री निरन्तर प्रस्तुत गर्दै आएका छौँ । यस्ता विषयमा हामीले केवल घटनाको विवरण दिनुभन्दा त्यसको प्रभाव, पृष्ठभूमि र नतिजामाथि केन्द्रित हुने प्रयास गरेका छौं । तर, यति भन्दैमा हाम्रो यात्रा पूर्ण भएको दाबी गर्न सकिँदैन । अझै पनि तथ्यको गहिरो अनुसन्धान, विविध दृष्टिकोणको समावेश र आलोचनात्मक बहसको विस्तारमा सुधारको प्रशस्त ठाउँ छ । हामी भर्खर एक खुड्किलो चढेका छौँ । यस्ता धेरै खुड्किला चढ्नु नै छ ।
पत्रकारिता विश्वासमा टिकेको पेसा हो । त्यो विश्वास दाबीले होइन, निरन्तरको अभ्यासले निर्माण हुन्छ । तथ्य र तर्कको समिश्रणले परिवर्तनको आवाज मुखरित गर्न सक्छ । त्यसैले दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा हाम्रो प्राथमिकता स्पष्ट छ-विश्वसनीयता बलियो बनाउने, सामग्रीको गहिराइ बढाउने र पाठकसँगको सम्बन्धलाई अझ सक्रिय र अन्तरक्रियात्मक बनाउने । हामीलाई अझ स्पष्ट रूपमा थाहा भएको छ कि “जनताको आवाज” भन्नु प्रतिनिधित्वको कुरा मात्रै होइन, यो त उत्तरदायित्वको पनि कुरा हो । कसको आवाज उठाइन्छ, कसरी प्रस्तुत गरिन्छ र त्यसले कस्तो प्रभाव पार्छ ? यी सबै प्रश्नहरूमा अझ संवेदनशील र सचेत हुनु आवश्यक छ ।
आगामी दिनमा ‘मानव आवाज डट कम’ ले आफ्नो भूमिकालाई समाचार माध्यमका साथसाथै एक जिम्मेवार सार्वजनिक मञ्चका रूपमा अझ सशक्त बनाउने लक्ष्य राखेको छ । तथ्य, तर्क र परिवर्तनको आवाज मानव आवाज बनाउने कामा हाम्रा पाठक तथा शुभचिन्तकसँग अन्तरक्रिया बढाउने लक्ष्य लिएका छौँ । सत्यको खोजी, निष्पक्षताको अभ्यास र जनचासोको संरक्षण-यी आधारहरूलाई व्यवहारमा अझ दृढताका साथ उतार्ने हाम्रो प्रतिबद्धता यथावत् छ, तर अब त्यो अझ परीक्षणयोग्य र नतिजामुखी बन्नेछ ।
यो यात्रामा पाठक, स्रोत, सहयोगी र सहयात्रीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ । सुझाव, आलोचना र सहभागिताले नै पत्रकारितालाई जीवन्त र उत्तरदायी बनाउँछ । दोस्रो वर्षको यस सङ्घारमा, हामी पुनः एकपटक स्पष्ट गर्छौं-यो यात्रा हाम्रो हो । हामीमा तपाईँ सबैजना अटाउनुहुन्छ । यो मानवको आवाज हो । भुइँमान्छेको आवाज हो । तपाईँ हामी सबैको साझा आवाजको यात्रा हो । आउनुहोस्, अझ जिम्मेवार, सचेत र प्रभावकारी पत्रकारिताको निर्माणमा सहयात्रा गरौं ।