रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका-६, रातमाटा प्लानिङ टोल विकास संस्थाले आफ्ना सदस्य तथा टोलका बालबालिकालाई लक्षित गर्दै लागू पदार्थ दुर्व्यसन न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सञ्चालन गरेको तीन महिने नृत्य प्रशिक्षण कार्यक्रमको समापनको अवसर पारेर उक्त अभिमुखीकरण आयोजना गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक राम अवतार यादवले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा लागू पदार्थको दुरुपयोगका असर र त्यसबाट जोगिने उपायबारे बालबालिकालाई जानकारी गराइएको थियो ।
समापन कार्यक्रममा तीन महिनासम्म प्रशिक्षण लिएका बालबालिकाहरूले विभिन्न विधाका आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथै, आयोजक संस्थाले सहभागी बालबालिकालाई प्रमाणपत्र प्रदान गरेको थियो ।
प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ६ का वडाध्यक्ष उज्वलकुमार थापाले टोल विकास संस्थाले दिलबहादुर थापाको नेतृत्वमा सकारात्मक र उदाहरणीय कार्यहरू गर्दै आएको उल्लेख गर्नु भयो ।
यस्ता गतिविधिमा आफ्नो निरन्तर साथ र सहयोग रहने बताउँदै उहाँले समाजमा रहेका विकृति-विसङ्गति न्यूनिकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै, रामेश्वरधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद कोइरालाले संस्थाले गरेका कामहरूको प्रशंसा गर्दै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
रातमाटा टोल विकास संस्थाको आयोजनामा सञ्चालन गरिएको तीन महिने नृत्य प्रशिक्षण तथा लागू पदार्थ दुर्व्यसन न्यूनिकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम प्लान नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सम्पन्न भएको हो ।