नेपालमा सम्पन्न निर्वाचनले नयाँ सरकार गठनको बाटो खोलिसकेको छ । चुनावी परिणामले शक्ति सन्तुलन मात्रै तय गर्दैन, यसले जनताको अपेक्षा र राज्यको जिम्मेवारीलाई पनि स्पष्ट रूपमा अगाडि ल्याउँछ । आम मतदाताले भारी मत दिएर सरकार बनाउने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुम्पेका छन् । अब मतबाट प्राप्त भएको त्यो विश्वासलाई सुशासनमार्फत प्रमाणित गर्ने जिम्मा अब बन्ने सरकारको काँधमा आएको छ ।
सुशासन भनेको केवल प्रशासनिक शब्द होइन, यो लोकतन्त्रको सार हो । जब राज्य सञ्चालनमा पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता हुन्छ, तब मात्रै जनताले राज्यलाई आफ्नो ठान्छन् । नेपालमा विगतका धेरै सरकारहरू परिवर्तन भए, तर सुशासनको अनुभूति भने अझै पूर्ण रूपमा स्थापित हुन सकेको छैन । यही कारणले आज जनताले सबैभन्दा बढी खोजेको कुरा सुशासन नै हो ।
सबैभन्दा पहिला सरकार भ्रष्टाचार नियन्त्रणमा दृढ देखिनुपर्छ । भ्रष्टाचार नियन्त्रण बिना विकासको कुनै पनि योजना प्रभावकारी हुँदैन । राज्यका निकायहरूलाई निष्पक्ष बनाउने, अनियमितता गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउने र दण्डहीनताको अन्त्य गर्ने काम नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । त्यसैगरी कानुनको पालना र उत्तरदायित्व लोकतान्त्रिक शासनको मेरुदण्ड हुन् । पद र शक्तिको आडमा नियम मिच्ने प्रवृत्ति रोक्न सकिएन भने जनताको विश्वास गुम्छ । त्यसैले सरकारका मन्त्रीदेखि कर्मचारीसम्म सबैलाई आफ्नो निर्णय र कामप्रति जिम्मेवार बनाउने प्रणाली स्थापित गर्न आवश्यक छ ।
सुशासनको अर्को महत्वपूर्ण पक्ष जनमूखी कामकारवाही र सेवामा सहज पहुँच हो । नागरिकले सामान्य सेवा लिन पनि घण्टौँ लाइन बस्नुपर्ने, सिफारिसका लागि अनावश्यक झन्झट झेल्नुपर्ने अवस्था अझै कायम छ । यदि सरकार साँच्चै जनताको हो भने राज्यका सेवा सरल, छिटो र पहुँचयोग्य बनाउनैपर्छ । यसका साथै जनसहभागितालाई पनि शासन प्रणालीको केन्द्रमा राख्नुपर्छ । लोकतन्त्र केवल मतदानको दिनमा मात्रै सीमित हुँदैन, नीति निर्माण र निर्णय प्रक्रियामा नागरिकको आवाज सुन्ने संस्कार विकास गर्न सकिएन भने लोकतन्त्र कमजोर हुन्छ ।
अन्ततः चुनाव परिणामले सरकार बनाउँछ, तर सुशासनले मात्र सरकारलाई वैधता र सम्मान दिन्छ । अहिले बनेको सरकारका लागि सबैभन्दा ठूलो चुनौती र अवसर यही हो-जनताले दिएको मतलाई सुशासनको व्यवहारमा रूपान्तरण गर्ने । भारी मतसहित सरकार गठनका लागि तम्तयार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले अहिले विजय जुलुस प्रदर्शन नगर्ने र काम गर्ने बताएका छन् । यो सोचलाई जनताको म्याण्डेट मानेर अर्को आवधिक निर्वाचनसम्म जनताकै सेवामा समर्पित हुन पनि रास्वपा लागि पर्नु पर्ने हुन्छ । यदि नयाँ सरकारले पारदर्शिता, उत्तरदायित्व, कानुनको पालना र भ्रष्टाचार नियन्त्रणलाई व्यवहारमा उतार्न सक्यो भने मात्र लोकतन्त्रप्रतिको जनविश्वास बलियो हुनेछ । यही कारणले आजको नेपालमा सरकारको सफलता सत्ता टिकाइमा होइन, सुशासन स्थापित गर्न सक्ने क्षमतामा मापन हुनेछ ।