मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एमाले कास्कीको प्रतिबद्धतापत्र सार्वजनिक, सुशासन र समृद्धि मुख्य एजेन्डा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर–२ ले २०८२ फागुन ५ गते चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, पूर्व केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल तथा एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बराल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिबद्धतापत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको स्पष्ट कार्ययोजना अघि सारेको जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मि आचार्यले देश इतिहासकै कठिन मोडबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताको रक्षा आफ्नो प्रमुख प्राथमिकता रहने बताउनु भयो ।

उहाँले राष्ट्रहितलाई केन्द्रमा राख्दै आवश्यक संविधान संशोधन, स्थिर सरकार निर्माण र आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

आचार्यले सुशासन प्रवर्धन तथा भ्रष्टाचार नियन्त्रणमार्फत नागरिकले सहज र छिटो सेवा पाउने वातावरण सिर्जना गरिने बताउँदै जनमैत्री कानुन निर्माणमा जोड दिने उल्लेख गर्नु भयो ।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जमिन र आवासको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भयो ।

प्रतिबद्धतापत्रमा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन, स्वास्थ्य, ध्यान, योग, शिक्षा तथा संस्कृतिको केन्द्रका रूपमा विकास गर्ने योजना समेटिएको छ ।

नयाँ पर्यटकीय गन्तव्य, सेवा तथा पूर्वाधार विस्तार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य पनि राखिएको छ ।

यसैगरी ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अशक्त समुदायका लागि सेवासुविधा विस्तार गर्ने योजना उल्लेख गरिएको छ ।

गुणस्तरीय तथा प्राविधिक शिक्षाको विकासमार्फत युवाको विदेश पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार प्रवर्धन गर्ने लक्ष्य पनि अघि सारिएको छ ।

कृषक, श्रमिक, जनजाति, शहरी मजदुर लगायत पछाडि परेका वर्गको अधिकार संरक्षण, सामाजिक सुरक्षा कार्यक्रम विस्तार तथा योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि पत्रमा समावेश गरिएको छ ।

आचार्यले कास्की क्षेत्र नम्बर-२ को समग्र विकास, स्थानीय मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने तथा नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै ‘सबैको साथ, सबैको विकास’ अवधारणाअनुसार अगाडि बढ्ने बताउनु भयो ।

निर्वाचन परिचालन समितिका सहसंयोजक झपट रानाभाटले आचार्यको उम्मेदवारी सुशासन, स्थिरता र समृद्धिको अभियानसँग जोडिएको उल्लेख गर्दै कास्कीको दीगो विकासमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

त्यसैगरी कास्की १ का एमाले उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले पनि निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको छ ।

Author

Related News