पोखरा । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकको सहयोगका लागि पोखरामा विभिन्न सङ्घसंस्थाले राहत तथा आर्थिक सहयोग जारी राखेका छन् ।
पोखरा नगर रेस्टुरेन्ट तथा बार एशोसिएसनले बाढी प्रभावित क्षेत्रबाट पोखरा आउने मृतकका परिवार, उपचाररत बिरामी तथा कुरुवा, आफन्तजन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि १ लाख रुपियाँ बराबरको निःशुल्क खाना, खाजा तथा आवासको व्यवस्था गरेको छ । एशोसिएसनले १ सय ५० जनालाई उक्त सेवा उपलब्ध गराएको हो ।
एशोसिएसनका अध्यक्ष दीपक तिमिल्सिनाले विपद्को कठिन घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग जुटाइएको बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका सचिवसँगको समन्वय र सहकार्यमा प्रभावितका लागि खाना तथा अन्य सेवा उपलब्ध गराइएको एशोसिएसनका पूर्वअध्यक्ष तथा सल्लाहकार केपी शर्मा पाध्याले जानकारी दिनुभयो ।
ब्राह्मण समाज नेपालले पनि प्राकृतिक प्रकोपबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ ।
समाजका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीका अनुसार सहयोग रकमको बैङ्क दाखिला भौचर आज जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाइएको छ।
ब्राह्मण समाज कास्की र ब्राह्मण समाज पोखरा महानगर समितिले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भदौ १० गते भएको प्राकृतिक प्रकोपबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।
महिला स्वास्थ्य स्वयम्सेविका सञ्जाल कास्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार ५ सय १५ रुपियाँ सहयोग गरेको छ ।
सञ्जालकी अध्यक्ष भीमा पौडेलका अनुसार उक्त रकमको बैङ्क भौचर जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाइएको छ ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ ।
प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।
२०५६ साल देखि सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, पोषण, जिविकोपार्जन, जलवायु परिवर्तन, सरसफाइ र आर्थिक सामाजिक रूपान्तरणलाई निरन्तर सहयोग गर्दै आएको संस्था असल छिमेकी सहयोग सङ्घ (गोनेसा) पोखराले बाढी प्रभावित नागरिकको पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपियाँ सहयोग गरेको संस्थाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी दिनु भयो ।