मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

सिटीवानको पाँचौँ तीज मेला बाढीपीडितमा समर्पित

पोखरा ।  गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै आयोजना गर्न लागेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता यस वर्ष रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगार्थ समर्पित गर्ने भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेपछि रसुवाको भोटेकोशी क्षेत्रमा बाढी आएपछि प्रतियोगितालाई बाढीपीडितको सहयोगार्थ आयोजना गर्ने गरी परिमार्जन गरिएको टेलिभिजनले जनाएको छ ।

“तीजको बेला सिटीवानको सांस्कृतिक मेला, प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३” नाम दिइएको उक्त मेला तीजका सांस्कृतिक पक्षको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताबाट हुने आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी कार्यक्रम आयोजना गर्न लागिएको सिटीवान टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको मुख्य प्रायोजक पशुपती पेन्ट्स रहेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गृहलक्ष्मी ग्यास उद्योग, नेपाल मणिपाल शिक्षण अस्पताल, कर्माचार्य ग्रुप, सुजल फुड्स, चरक मेमोरियल अस्पताल, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल), मुक्तिनाथ विकास बैंकलगायत संस्थाहरू प्रायोजकका रूपमा रहेका छन् ।

कार्यक्रम संयोजक शुष्मा थापा पाण्डेका अनुसार प्रतियोगितामा करिब २७ समूहको सहभागिता रहनेछ । प्रतियोगितामा बाढीपीडितका लागि महिलाको भूमिका, उद्धार तथा राहत र समाज परिवर्तनमा महिलाको भूमिकालाई मुख्य प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी महिला हिंसा, पर्यटन प्रवर्धन, सरसफाइ, बीमा तथा वैदेशिक रोजगार, उद्यमशीलता, शिक्षाको महत्त्व, स्थानीय सरकार, लागूऔषध दुर्व्यसन, खानेपानी तथा ऊर्जा, बैंक तथा वित्तीय सचेतना र स्वास्थ्य सचेतनालगायत समसामयिक सामाजिक विषयलाई समेत तीज गीतमार्फत प्रस्तुत गर्ने व्यवस्था गरिएको संयोजक पाण्डेले बताउनुभयो ।

मेलाको पहिलोदेखि चौथो संस्करणसम्मको सफलतापछि पाँचौँ संस्करण २०८३ भदौ २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुनेछ । मेला बिहान ९ बजेदेखि सञ्चालन हुने पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा विशुद्ध नेपाली तीज परम्परासँग सम्बन्धित गीतलाई प्राथमिकता दिइनेछ । साथै पछिल्लो घटनाक्रम र वर्तमान सामाजिक परिवेशलाई समेत समेट्दै तीजलाई तीजकै मौलिक स्वरूपमा मनाउने उद्देश्यले मेला आयोजना गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार रुपियाँ, द्वितीयले ३० हजार रुपियाँ, तृतीयले २० हजार रुपियाँ र सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयि प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभूषा र उत्कृष्ट शब्दका लागि ५–५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतीले प्रतियोगिताका लागि निःशुल्क समूह दर्ता गर्न सकिने बताउँदै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेपछि नेपाली नागरिकमा अकल्पनीय क्षति पुगेकाले यस वर्षको कार्यक्रम बाढीपीडितमा समर्पित गरिएको जानकारी दिनुभयो ।

आयोजकका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यद्यपि पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमको खर्च कटौती गर्ने लक्ष्यसमेत राखिएको छ ।

अघिल्ला संस्करणको तुलनामा यस वर्ष विद्यालयस्तरमा तीज संस्कृतिबारे जानकारी दिने उद्देश्यले विशेष रूपमा स्कुले विद्यार्थीका समूहलाई समेत सहभागी गराउने योजना रहेको सिटीवान टेलिभिजनका सचिव सुरेश श्रेष्ठले बताउनुभयो ।

मेलामा बाढी तथा अन्य प्राकृतिक प्रकोपसम्बन्धी जनचेतनामूलक सामग्री, महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा नेपाली उत्पादनका गरी २५ भन्दा बढी स्टलसमेत रहने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार