मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

पोखरा उद्योग वाणिज्य सङ्घको मतदान सम्पन्न, मतगणना भदौ २२ गते बिहान

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनअन्तर्गत २०८३ भदौ २१ गते मतदान सम्पन्न भएको छ । अध्यक्ष पदतर्फ २ हजार २ सय ७४ मत र सदस्य पदतर्फ २ हजार १ सय ८ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सङ्घमा कुल २ हजार ७ सय ३१ मतदाता रहेका छन् । मतदान सम्पन्न भएसँगै मतगणना २०८३ भदौ २२ गते बिहान ८ बजेपछि पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सुरु हुने जनाइएको छ ।

सङ्घको अध्यक्ष पदका लागि शोभा गौतम, बलराम आचार्य, अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्यबिच प्रतिस्पर्धा भएको छ ।

बलराम आचार्य र शोभा गौतमको नेतृत्वमा पदाधिकारीसहितका दुई ओटा प्यानल चुनावी मैदानमा छन् भने अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्यले प्यानलरहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

मतदान सम्पन्न भएपछि चारै जना अध्यक्ष पदका उम्मेदवारले आफ्नो विजयी हुने दाबी गरेका छन् ।

चार अध्यक्ष पदका उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएकाले प्यानलभित्रै मत विभाजन हुने र पदाधिकारीको नतिजा मिश्रित आउन सक्ने अनुमान गरिएको छ ।

बलराम आचार्य नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योगतर्फको उपाध्यक्षमा ललितबहादुर कुँवर, वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देबेन्सन प्रजु उम्मेदवार रहनुभएको छ ।

शोभा गौतम नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्यतर्फको उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ उम्मेदवार रहनुभएको छ ।

उपमहासचिव पदमा रामचन्द्र तिमिल्सिना भने कुनै पनि प्यानलमा नरही स्वतन्त्र रूपमा उम्मेदवार बन्नुभएको छ ।

खुला सदस्यतर्फ १० जना निर्वाचित हुने भए पनि १३ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका उम्मेदवारहरूमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारी रहनुभएको छ ।

निर्वाचनको मतपरिणामले अध्यक्षसहित पदाधिकारी र सदस्यतर्फ कसको नेतृत्वमा सङ्घको आगामी कार्यसमिति बन्ने भन्ने टुङ्गो लगाउनेछ ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार