पोखरा । पोखरा महानगरपालिका-६, बङ्गलादीमा सामाजिक क्षेत्रमा क्रियाशील कर्मफ्लाइट्स फाउण्डेसन नेपालको १२औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको आगामी तीन वर्षे कार्यकालका लागि २०८३ भदौ २० गते सम्पन्न अधिवेशनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

निर्वाचन अधिकृत शिवलाल धितालका अनुसार उपाध्यक्षमा शिव थापा, सचिवमा कुलप्रसाद अधिकारी, कोषाध्यक्षमा रेनुका कार्की र सहसचिवमा अप्सरा केसी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा उमेशचन्द्र देवकोटा, कृष्ण पोखरेल, शोभित ठकुरी, सुरेश नेपाली, आदित्य चन्द र शेषकान्त शर्मा चयन हुनुभएको छ । निर्वतमान अध्यक्ष शर्मिला शर्मा भने पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थाको उद्देश्य र लक्ष्यअनुसार आगामी दिनमा सबै सदस्यको समन्वय, सहकार्य र सक्रिय सहभागिताका साथ संस्थाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबिच कार्यक्रममा मेडिहव फार्मास्यूटिकल्सका प्रबन्ध निर्देशक श्रीधर खनालले ५० हजार रुपियाँ बराबरको प्राथमिक उपचार (फस्ट एड) सामग्री हस्तान्तरण गर्नुभएको छ ।
स्वास्थ्य सामग्री कर्मफ्लाइट्स फाउण्डेसन नेपालका स्वास्थ्य उपसमिति संयोजक कृष्णप्रसाद पाण्डेमार्फत झमबहादुर कुँवरलाई हस्तान्तरण गरिएको हो ।
फाउण्डेसनका अनुसार उक्त स्वास्थ्य सामग्री बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका विभिन्न विद्यालयमा वितरण गरिनेछ ।
साधारणसभामा सिटी प्याथ ल्याब प्रालि पोखरा महानगरपालिका-५ प्रस्याङ सुगर र कोलेस्ट्रोल चेकअप र मेडिप्लस अस्पतालबाट ६० जनाको नि:शुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।