मानव आवाज

२०८३ मङ्सिर १० गते
00: 00: 00
२०८३ मङ्सिर १० गते

दुधौलीमा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री मेला

सिन्धुली । स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास र बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुलीको दुधौली नगरपालिकामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरूको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको छ ।

‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित १२औँ राष्ट्रिय औद्योगिक दिवसको अवसरमा २०८३ मङ्सिर ९ गते दुधौली नगरपालिकाको कार्यालय परिसरमा मेला आयोजना गरिएको हो ।

दुधौली नगरपालिकाको आयोजनामा सम्पन्न मेलामा बागमती प्रदेशसभा सदस्य मातृकाप्रसाद भट्टराई, नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारू तथा प्रमुख प्रशासकीय अधिकृत राजु खनाल अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

त्यसैगरी, दुधौली नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बृजनारायण साह, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारी, स्थानीय उद्यमी, व्यवसायी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

मेलामा स्थानीयस्तरमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित विभिन्न वस्तु तथा सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए ।

स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुको पहिचान, प्रचारप्रसार, बजारीकरण तथा बिक्री वितरणका लागि मेलाले महत्वपूर्ण अवसर प्रदान गरेको नगरपालिकाले जनाएको छ ।

स्थानीय उत्पादनको उपभोग तथा प्रयोगलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादन प्रवर्धन गर्ने, उद्यमीबिच अनुभव, ज्ञान, सीप तथा प्रविधिको आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

मेलाले नयाँ उद्यमीलाई उद्योग तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुका साथै महिला, युवा तथा बेरोजगार व्यक्तिलाई उद्यमशीलतातर्फ आकर्षित गरी रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, सीप र कच्चा पदार्थको अधिकतम उपयोग गरी उत्पादनमूलक उद्योगको विकास गर्न सके स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिने विश्वास आयोजकले लिएको छ ।

यस्ता प्रदर्शनी तथा बिक्री मेलाले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै उद्यमीहरूको आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार