सिन्धुली । स्थानीय उत्पादनको प्रवर्धन, उद्यमशीलताको विकास र बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुलीको दुधौली नगरपालिकामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी तथा बिक्री मेला आयोजना गरिएको छ ।
‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित १२औँ राष्ट्रिय औद्योगिक दिवसको अवसरमा २०८३ मङ्सिर ९ गते दुधौली नगरपालिकाको कार्यालय परिसरमा मेला आयोजना गरिएको हो ।
दुधौली नगरपालिकाको आयोजनामा सम्पन्न मेलामा बागमती प्रदेशसभा सदस्य मातृकाप्रसाद भट्टराई, नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारू र प्रमुख प्रशासकीय अधिकृत राजु खनाल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
मेलामा दुधौली नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बृजनारायण साह, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारी, स्थानीय उद्यमी, व्यवसायी र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
मेलामा स्थानीयस्तरमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित विभिन्न वस्तु तथा सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका थिए ।
स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुको पहिचान, प्रचारप्रसार, बजारीकरण र बिक्री वितरणका लागि मेलाले महत्वपूर्ण अवसर प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
स्थानीय उत्पादनको उपभोग तथा प्रयोगलाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनको प्रवर्धन गर्नुका साथै उद्यमीबीच अनुभव, ज्ञान, सीप र प्रविधिको आदानप्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
मेलाले नयाँ उद्यमीलाई उद्योग तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुका साथै महिला, युवा र बेरोजगार व्यक्तिलाई उद्यमशीलतातर्फ आकर्षित गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन, सीप र कच्चा पदार्थको अधिकतम उपयोग गर्दै उत्पादनमूलक उद्योगको विकास गर्न सके स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिने विश्वास गरिएको छ ।
यस्ता प्रदर्शनी तथा बिक्री मेलाले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै उद्यमीको आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।