सिन्धुली । कमलामाई नगरपालिका-४, ज्यामिरेमा यतिबेला एउटा करेसाबारी हरियालीले मात्र होइन, फलफूल र तरकारीले पनि लटरम्म भरिएको छ । बेमौसमी लौका, काँक्रो, घिरौँला र करेलाले ढाकिएको त्यो करेसाबारीकी मेहनती किसान ४८ वर्षीया विष्णुमाया तामाङ हुनुहुन्छ ।
आफ्नै मिहिनेतको फल आफ्नै आँखाअगाडि फलेको देख्दा उहाँको अनुहारमा छुट्टै खुसी झल्किन्छ । विगत सम्झिँदै उहाँ मुस्कुराउँदै भन्नुहुन्छ-“पहिला आफैँ बजारबाट तरकारी किनेर खान्थेँ, अहिले तरकारी बेचेरै घरखर्च धानेकी छु ।”
पाँच वर्षअघिसम्म विष्णुमायासँग स्थायी आम्दानीको स्रोत थिएन । दैनिक घरखर्च चलाउनसमेत सङ्घर्ष गर्नुपर्ने अवस्था थियो । तर, अहिले दुई कठ्ठा जमीनमा गरिएको व्यावसायिक तरकारी खेती नै उहाँको वार्षिक लाखौँ रुपियाँ आम्दानीको आधार बनेको छ ।
यो परिवर्तन सहजै भने आएको होइन । वर्ल्ड नेर्भसको साझेदारीमा सिड्स नेपाल, सिन्धुलीद्वारा सञ्चालित नेपाल एकीकृत ग्रामीण विकास परियोजनाले उहाँको जीवनमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
परियोजनाले ज्यामिरे कृषि सिकाइ केन्द्रमा आबद्ध गराउँदै प्रेरणा, सीप र प्राविधिक सहयोग उपलब्ध गराएपछि विष्णुमायाको व्यावसायिक कृषि यात्रा सुरु भएको हो ।
पोषण, जैविक प्रणालीमा आधारित खेती, बेमौसमी तरकारी उत्पादन, झोल मल, गड्यौला मल, इएम-टु, कृषि-वन, बजार व्यवस्थापन तथा सशक्तीकरणसम्बन्धी विभिन्न तालिमले उहाँलाई सीपसँगै आत्मविश्वास पनि प्रदान गर्यो ।
उहाँका अनुसार परियोजनाबाट प्राप्त निरन्तर प्राविधिक सहयोग र प्रोत्साहनले आफूलाई आत्मनिर्भर बन्न प्रेरित गरेको हो ।
उहाँ भन्नुहुन्छ-“खेती गर्न रासायनिक मल र विषादीमा खर्च गर्नु परेको छैन । आफैँ जैविक मल र विषादी बनाएर प्रयोग गर्छु । गड्यौलाको मल र झोल मल बेचेर पनि आम्दानी भइरहेको छ । यसले माटोको गुणस्तर सुधार गर्छ र उत्पादन पनि स्वस्थ हुन्छ ।”
जैविक विधिबाट गरिएको खेतीले माटोको स्वास्थ्य सुधार गरेको छ । स्वस्थ माटोले उत्पादन वृद्धि गराएको छ भने जैविक उत्पादनप्रति बजारमा आकर्षण पनि बढ्दै गएको छ ।
अहिले विष्णुमायाको करेसाबारी बेमौसमी तरकारीले भरिएको छ । उहाँका अनुसार मौसमीभन्दा बेमौसमी तरकारीले राम्रो मूल्य पाउने भएकाले उत्पादनबाट थप लाभ भइरहेको छ ।
उहाँले तरकारी बिक्रीबाट हप्तामै १५ हजार रुपियाँभन्दा बढी आम्दानी लिन थालेको बताउनुभयो ।
“गत वर्ष दुई सय ओटा लौका मात्रै बेचेकी थिएँ, अहिले करिब पाँच सय ओटा फलेको छ । मङ्सिरमा दल राखेर माघमा रोपेकी थिएँ, अहिले बेच्न भ्याइनभ्याइ छ ।”-उहाँले सुनाउनुभयो ।
विष्णुमायाको सफलता देखेर छिमेकीहरू पनि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । उहाँको करेसाबारीले गाउँको कोसेली संस्कारसमेत बदल्न थालेको छ ।
पहिले आफन्तकहाँ जाँदा बजारबाट केही किनेर लैजानुपर्ने अवस्था थियो । अहिले आफ्नै बारीका लौका, काँक्रो, करेला र घिरौँलाले नै कोसेलीको स्थान लिएका छन् ।
“कोसेलीमा खर्च गर्नुपर्दैन । आफ्नै बारीको तरकारी लिएर जाँदा आफन्तहरू झन् खुसी हुनुहुन्छ ।”- उहाँ हाँस्दै भन्नुहुन्छ ।
तरकारीबाट उहाँले आम्दानी मात्र बढाउनुभएको छैन, सम्बन्धलाई पनि थप आत्मीय बनाउनुभएको छ । आफ्नै उत्पादन कोसेलीका रूपमा पठाउँदा पारिवारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ भएको उहाँको अनुभव छ ।
विष्णुमायाको आम्दानी अहिले तरकारीमा मात्र सीमित छैन । तरकारीका बीउ, घाँसका बीउ, जैविक मल बिक्री तथा होमस्टे सञ्चालनसमेत उहाँका आयका थप स्रोत बनेका छन् । आम्दानीबाट बचत भएको रकम उहाँले समूहमा नियमित बचत गर्दै आउनुभएको छ ।
उहाँ भन्नुहुन्छ-“पैसा कमाउन विदेश जानैपर्छ वा जागिर खानैपर्छ भन्ने रहेनछ । मिहिनेत गरे व्यावसायिक कृषिबाट पनि राम्रो कमाइ गर्न सकिने रहेछ ।”
विष्णुमायाका अनुसार अहिले बजारमा जैविक उत्पादनको माग निरन्तर बढिरहेको छ । रासायनिक मल र विषादी प्रयोग गरिएका उत्पादनभन्दा गाउँमै उत्पादन भएका अर्गानिक तरकारी उपभोक्ताले बढी खोज्ने गरेका छन् ।
“दुई-चार रुपियाँ बढी तिर्न तयार हुन्छन्, तर हाम्रो अर्गानिक उत्पादन नै खोज्छन् ।”-उहाँले भन्नुभयो ।
उहाँका अनुसार बजारमा पाइने रासायनिक मल र विषादीयुक्त उत्पादनमा स्वाद कम हुने र स्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण हुन सक्ने भएकाले उपभोक्ताले आफ्ना उत्पादनलाई प्राथमिकता दिने गरेका छन्
।
उहाँ आफ्नो उत्पादन आफैँ बजारमा लगेर बिक्री गर्नुहुन्छ । यसले बिचौलियालाई जाने रकम बचेर प्रत्यक्ष लाभ आफूलाई हुने उहाँको अनुभव छ । “बजार आफैँ पुगेर बेच्दा मूल्य पनि राम्रो पाइन्छ ।”-उहाँले सुनाउनुभयो ।
परियोजनाअन्तर्गत सञ्चालनमा रहेको ज्यामिरे कृषि सिकाइ केन्द्रमा विष्णुमायासहित ३२ जना आबद्ध छन् ।
तीमध्ये २५ जनाले व्यावसायिक खेती गरिरहेका छन् भने १६ जनाले जैविक विधिबाट तरकारी उत्पादनसम्बन्धी तालिम दिन सक्ने गरी सिटिइभिटीबाट प्रमाणपत्रसमेत लिएका छन् ।
केन्द्रमा आबद्ध धेरै परिवार अहिले स्वरोजगार बनेका छन् भने कतिपय विदेश गएकाहरू समेत गाउँ फर्किएर तरकारी खेतीमा लाग्न थालेका छन् ।
सामाजिक परिचालक राधा ठोकरका अनुसार सुरुमा कृषिप्रति विश्वास जगाउन निकै कठिन थियो । अहिले अवस्था फेरिएको छ ।
उहाँ भन्नुहुन्छ-“यस टोलका धेरै व्यक्ति व्यावसायिक तरकारी खेतीबाट स्वरोजगार मात्र बनेका छैनन्, आत्मनिर्भरसमेत भएका छन् ।”
छाप्रो टनेलमा व्यावसायिक तरकारी खेती गरिरहेकी विष्णुमायाका अनुसार उत्पादन विस्तारका लागि अझै सहयोग आवश्यक छ ।
व्यवस्थित टनेल, जाली तथा निरन्तर प्राविधिक सहयोग भए उत्पादन अझ वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।
उहाँको विश्वास छ-यस्ता सहयोग विस्तार भए गाउँको जैविक कृषि अभियान थप सशक्त बन्नेछ ।
विष्णुमायाको कथा केवल एक महिलाको आर्थिक उन्नतिको कथा मात्र होइन, सीप, सहयोग र मिहिनेत एकसाथ जोडिँदा ग्रामीण अर्थतन्त्र कसरी परिवर्तन हुन सक्छ भन्ने ज्वलन्त उदाहरण पनि हो ।
तरकारी किनेर खाने अवस्थाबाट तरकारी बेचेर लाखौँ कमाउने यात्रासम्म आइपुगेकी विष्णुमायाले गाउँमै बसेर पनि सफल वर्तमान र उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिनुभएको छ ।