२४ वर्ष बित्दा पनि मुक्तिनाथ अधिकारी हत्याका दोषी अझै कानुनी कठघरामा आएनन्
ललितपुर । लमजुङको दुराडाँडामा तत्कालीन शिक्षक तथा मानवअधिकारकर्मी मुक्तिनाथ अधिकारीको माओवादी कार्यकर्ताबाट हत्या भएको २४ वर्ष बितिसकेको छ । तर, यो कहालीलाग्दो घटनामा संलग्न दोषीहरू अहिलेसम्म पनि सजायको घेरामा आउन सकेका छैनन् ।
२०५८ साल माघ ३ गते माओवादीलाई चन्दा दिन अस्वीकार गरेको आरोपमा अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको थियो । संस्कृत शिक्षा पढाएको, माओवादीको प्रभाव विस्तारमा सहयोग नगरेको र चन्दा दिन नमानेको कारण देखाउँदै माओवादी कार्यकर्ताले उनलाई कक्षामा पढाइरहेका बेला हात बाँधेर डाँडामा लगेर गोली हानेर हत्या गरेका थिए ।
न्यायको खोजीमा २४ वर्ष
अधिकारीको हत्या भएलगत्तै उहाँकी श्रीमती इन्दिरा अधिकारीले जिल्ला प्रहरी कार्यालय, बेंसीसहरमा उजुरी दिनु भयो । उजुरी दर्ता भए पनि प्रहरीले अनुसन्धान सुरु गरेन । त्यसयता अधिकारी परिवारले जिल्ला प्रशासनदेखि राजधानी काठमाडौंसम्म धाउँदा पनि न्याय पाउन सकेको छैन । अधिकारीका छोरा सुमन अधिकारीले सर्वोच्च अदालतमा घटनाको अनुसन्धान माग गर्दै दायर गरेको निवेदन वर्षौंदेखि तारेखमै सीमित छ । उहाँले भन्नु भयो-“२४ वर्ष बितिसक्दा पनि सरकारले यो जघन्य हत्याको अनुसन्धान गरेर दोषीलाई न्यायको कठघरामा ल्याउन सकेको छैन । द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका हजारौं पीडितजस्तै हामी पनि लामो पीडामा छौं ।” उहाँका अनुसार सङ्क्रमणकालीन न्यायको विषयमा सरकारले देखाएको अनुचित ढिलासुस्ती र बेवास्ताका कारण पीडितले कहिले न्याय पाउने हुन् भन्ने प्रश्न अझै अनुत्तरित छ ।
हत्या हुनु अघि के भएको थियो ?
२०५८ साल भदौतिर, पाणिनी संस्कृत माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नवकुमार अधिकारी विस्थापित भएपछि मुक्तिनाथ अधिकारीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ प्रधानाध्यापक मात्र होइन, एमनेस्टी इन्टरनेसनलका स्थानीय सम्पर्क व्यक्ति पनि हुनुहुन्थ्यो । २०५८ सालको दशैँताका माओवादी कार्यकर्ताहरू विद्यालय पुगेर सबै शिक्षकको २५ प्रतिशत तलब चन्दा दिन निर्देशन दिए । मुक्तिनाथ अधिकारीले उक्त प्रस्ताव शिक्षकहरूमाझ राख्नु भयो, तर सबै शिक्षकले अस्वीकार गरे । सामूहिक अस्वीकारपछि आफूले मात्र चन्दा दिन नहुने निष्कर्षमा अधिकारी पुग्नु भयो । यसै निर्णयकै कारण उहा माओवादीको निशानामा पर्नु भयो र निर्ममतापूर्वक मारिनु भयो ।
पीडितको आवाज उठिरहे पनि न्याय मौन
आज २०८२ माघ ३ गते मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले दुराडाँडास्थित विद्यालयमा कार्यक्रमको आयोजना गरी अधिकारीको सम्झना गरिरहेको छ । वर्षौँदेखि छलफल अन्तरक्रिया दबाबमुलक कार्यक्रम ज्ञापनपत्र मुद्दा मामला विविध तौरतरिकाबाट दबाब दिँदा पनि न्याय मौन छ । अधिकारीको आत्मा शान्ति र अधिकारी परिवारले न्याय नपाएको विषयमा गम्भीर चिन्ता व्यक्त गरिँदै आएको छ । यस विषयमा न्याय दिनु पर्ने निकाय र निकायका पदमा आसिन व्यक्तिलाई भलिकाँति जानकारी छ । तर न्याय मौन छ ।
मुक्तिनाथका छोरा सुमन अधिकारी द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उहाँले सशस्त्र द्वन्द्वका क्रममा राज्य र माओवादी दुवै पक्षबाट मारिएका तथा पीडित बनेकाहरूको न्यायका लागि वर्षौं समय खर्चिनु भएको छ । पीडितका पक्षमा वकालती गर्ने क्रममा कैयौँ जोर चपल फाटिसके पैतालाका छाला पटकपटक लुछिए तर न्याय मौन छ । अहिलेसम्म परिणाम शून्य छ । फेरि पनि प्रश्न उस्तै छ—पीडितले न्याय पाउने सम्भावना छ ? कहिले पाउलान् न्याय ?